काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै आन्तरिक लोकतन्त्र र सामूहिक नेतृत्वलाई सुदृढ बनाउन नवनिर्वाचित नेतृत्वलाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शुभकामना दिँदै केसीले कांग्रेसको महाधिवेशन सांगठनिक र वैधानिक दायित्व पूरा गर्ने माध्यम मात्रै नभई आन्तरिक लोकतन्त्रको सुदृढीकरण, नीतिगत पुनरावलोकन र भावी मार्गचित्र तय गर्ने प्रमुख आधार भएको बताएका हुन् ।
उनले वर्तमान जटिल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा कांग्रेसले बहन गर्नुपर्ने जिम्मेवारी चुनौतीपूर्ण र संवेदनशील रहेको उल्लेख गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नीति, विधि र पद्धतिलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
पार्टीभित्रको गुटबन्दी चिर्दै छुटेका नेता तथा कार्यकर्तालाई समेत समेटेर अघि बढ्नु अहिलेको मुख्य आवश्यकता रहेको उनको भनाइ छ ।
केसीले ‘जेन–जी’ आन्दोलनले उठाएका सुशासनका मुद्दालाई आत्मसात् गर्दै बीपी कोइरालाले अघि सारेको लोकतान्त्रिक आदर्शअनुसार पार्टीभित्र निरन्तरता र नवीनताको संयोजन गर्नुपर्ने बताएका छन् । साथै समावेशिता र आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।
जनजीविका र नागरिक अधिकारका पक्षमा संसद् र सडकबाट सशक्त प्रतिपक्षीय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै केसीले कमजोर बनेको अन्तरदलीय विश्वास, वित्तीय अनुशासन र अन्तर्राष्ट्रिय कूटनीतिक साख पुनर्स्थापित गर्नु कांग्रेसको प्राथमिकता हुनुपर्ने बताएका छन् ।
जटिल भूराजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रिय हितको रक्षा, बृहत् राष्ट्रिय एकता तथा मेलमिलाप स्थापित र संवर्धन गर्न नयाँ नेतृत्व सक्षम हुनुपर्ने उनको भनाइ छ ।
हालै गठित ठूलो पदाधिकारी टोलीले आन्तरिक गुटगत सन्तुलन मिलाउने प्रयास गरे पनि यसले निर्णय प्रक्रिया सुस्त र अस्पष्ट बनाउने जोखिम रहेको केसीले औँल्याएका छन् । त्यसैले सांगठनिक चुस्तता र सामूहिक नेतृत्वमा विशेष ध्यान दिनुपर्ने उनले बताएका छन् ।
नवनिर्वाचित नेतृत्वले सुशासन, भ्रष्टाचारमुक्त समाज र लोकतन्त्रको रक्षामा संकटमोचक भूमिका खेल्दै सफलताको नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्दै केसीले सबै पदाधिकारी तथा केन्द्रीय सदस्यलाई सफल कार्यकालको शुभकामना दिएका छन् ।
साथै उनले विजयादशमी २०८३ को अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया