लक्ष्मी सनराइज क्यापिटलले ११ प्रतिशत नगद लाभांश दिने

लोकपथ
35
Shares

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको बिहीबार काठमाडौंको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न १६औँ वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि पारित गरेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षणका लागि हाल कार्यरत एन।बी।एस।एम। एन्ड एसोसिएट्सलाई नै लेखापरीक्षकमा निरन्तरता दिने निर्णय गरेको छ ।

कम्पनीका अनुसार असार मसान्त २०८३ सम्मको विवरणअनुसार प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६६ पैसा रहेको छ । वितरणयोग्य आम्दानीबाट शेयरधनीलाई चुक्ता पुँजीको ११ प्रतिशत अर्थात् करसहित ५ करोड ३८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाले स्वीकृत गरेको हो ।

नेपालको पुँजी बजारमा शेयर निष्कासनसम्बन्धी मर्चेन्ट बैंकिङ तथा सामूहिक लगानी कोषको काम सुरु गर्ने पहिलो संस्थाका रूपमा रहेको कम्पनीले तीन दशकभन्दा लामो समयदेखि धितोपत्र बजारको विकास र विस्तारमा योगदान दिँदै आएको जनाएको छ ।

कम्पनीले करिब ६ अर्ब रुपैयाँ बराबरका ६ वटा बन्दमुखी म्युचुअल फन्ड र एउटा खुलामुखी म्युचुअल फन्ड सञ्चालन गर्दै आएको छ । यी कोषको कुल आकार करिब ७ अर्ब रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै, एक अर्ब रुपैयाँ पुँजी भएको लक्ष्मी सस्टेनेबल इनर्जी फन्डमार्फत कम्पनीले दिगो ऊर्जाका क्षेत्रमा लगानी गर्दै आएको छ । उक्त कोषले निर्धारित लक्ष्यअनुसार पुँजी संकलन गरी लगानी अघि बढाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?