‘सबै राजनीतिक दल असफल भए, अब देशलाई निकास दिने राप्रपाले हो’

लोकपथ
21
Shares
राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई निकास दिने र सही दिशा देखाउने शक्ति राप्रपा मात्रै भएको दाबी गरेका छन् ।

नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले मुलुकको राजनीतिमा अनिश्चय र अनिश्चितता बढेको बताए ।

उनले अन्य राजनीतिक दलहरू असफलतातर्फ गइरहेको दाबी गर्दै यस्तो अवस्थामा राप्रपालाई देशको नेतृत्व गर्न सक्ने शक्तिका रूपमा तयार पार्नुपर्ने बताए ।

लिङदेनले परम्परागत कार्यशैलीबाट मात्रै पार्टी बलियो बन्न नसक्ने भन्दै नेतृत्वदेखि कार्यकर्तासम्म सबै बदलिन आवश्यक रहेको उल्लेख गरे । आगामी महाधिवेशनबाट पार्टीलाई पुनर्गठन गरेर नयाँ ढङ्गले अघि बढ्नुपर्ने उनको भनाइ छ ।

‘नेपालको राजनीति एउटा अँध्यारो सुरुङमा प्रवेश गरेको छ । अनिश्चय र अनिश्चितताका कालो बादलहरू आज हाम्रो शिरमाथि मडारिरहेका छन् । सबैजसो राजनीतिक दलहरू असफलताको बाटोतर्फ गइरहेका छन्,’ उनले भने, ‘यस्तो बेला देशलाई निकास दिने र एउटा दृष्टि दिने कुनै शक्ति र पार्टी नेपालमा जीवित छ भने त्यो राष्ट्रिय प्रजातन्त्र पार्टी हो ।’

उनले राप्रपालाई सीमित कार्यकर्तामा मात्रै केन्द्रित नराखी आम नागरिकको पार्टीका रूपमा विकास गर्नुपर्ने बताए । पार्टीमा नयाँ मानिसलाई प्रवेश गराउन र संगठन विस्तार गर्न नसके राप्रपा ठूलो शक्ति बन्न नसक्ने उनको भनाइ छ ।

‘हामी अहिले जति मान्छे छौँ, त्यति मान्छे मिलेर मात्रै राप्रपा हुँदैन । हामीले अरू मान्छे नबढाउने, आम मान्छेको पार्टीका रूपमा राप्रपालाई विकसित नगर्ने, भएका मात्रै अँगालो मारेर बस्यौँ भने राप्रपा ठूलो हुन्छ त ?’ उनले प्रश्न गरे ।

अध्यक्ष लिङदेनले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको एजेण्डा स्थापित गर्न पनि संगठन विस्तार र प्रभावकारी राजनीतिक गतिविधि आवश्यक रहेको बताए । पार्टीका आदर्शलाई नारामा मात्रै सीमित नराखी व्यवहारमा स्थापित गर्नुपर्नेमा उनले जोड दिए ।

आगामी महाधिवेशनलाई पार्टी पुनर्गठनको अवसरका रूपमा उपयोग गर्नुपर्ने बताउँदै उनले नेता तथा कार्यकर्तालाई त्यसको तयारीमा जुट्न आग्रह गरे । देशका विद्यमान चुनौती सामना गर्दै आगामी दिनमा मुलुकको नेतृत्व गर्न सक्ने पार्टीका रूपमा राप्रपालाई विकास गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?