चाडपर्व नजिकिँदै गर्दा अनलाइन ठगी बढ्यो, प्रहरीले दियो यस्तो चेतावनी

लोकपथ
133
Shares

काठमाडौं । बडादशैँ र तिहार नजिकिँदै गर्दा पोखरासहित देशभर अनलाइन ठगीका घटना बढ्न थालेका छन् । सामाजिक सञ्जालमा नक्कली विज्ञापन राखेर आकर्षक सामानको प्रलोभन देखाउने र अग्रिम भुक्तानी लिएर सम्पर्कविहीन हुने गिरोह सक्रिय भएपछि प्रहरीले उपभोक्तालाई सचेत रहन आग्रह गरेको छ ।

पछिल्लो समय अनलाइन सपिङको आकर्षण बढ्दै गएसँगै प्रविधिको दुरुपयोग गरेर ठगी गर्ने क्रम पनि बढेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घरमै बसेर मोबाइलबाट सामान अर्डर गर्ने प्रवृत्तिको फाइदा उठाउँदै ठगीमा संलग्नहरूले टिकटक, फेसबुक र इन्स्टाग्रामलाई माध्यम बनाउने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र पासवानका अनुसार गत वर्षको तुलनामा यस वर्ष अनलाइन ठगीसम्बन्धी उजुरी दिनानुदिन बढ्दै गएका छन् ।

प्रहरीका अनुसार हालै पोखराका एक व्यक्तिले ‘सन्ध्या कलेक्सन ३५’ नामक टिकटक आइडीमार्फत सामान खरिद गर्ने क्रममा ४ लाख ४२ हजार रुपैयाँ गुमाएका छन् । ती व्यक्तिले सुरुमा ५ सय रुपैयाँको कुर्था खरिद गर्न खोजेका थिए। तर ठगीमा संलग्नले अग्रिम भुक्तानीको प्रलोभन देखाउँदै पटक–पटक रकम ट्रान्सफर गर्न लगाएर उनको बैंक खाता नै रित्याएका थिए ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले धनगढीबाट १७ वर्षीय किशोरलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।

डीएसपी पासवानले व्यक्तिगत सामाजिक सञ्जाल पेज वा टिकटक आइडीमार्फत दिइने अस्वाभाविक रूपमा सस्तो अफरबाट सचेत रहन उपभोक्तालाई आग्रह गरेका छन् ।

उनले भने, ‘कुनै पनि व्यक्तिगत सामाजिक सञ्जालको पेज वा टिकटक आइडीमार्फत हुने अस्वाभाविक सस्तो अफरबाट सचेत रहनुहोस् । अनलाइन भुक्तानी गर्दा सकेसम्म डेलिभरी भइसकेपछि मात्र पैसा तिर्ने विधि अपनाउनु सबैभन्दा सुरक्षित हुन्छ ।’

प्रहरीले अनलाइन सपिङ गर्दा आधिकारिक रूपमा दर्ता भएका र विश्वासिला पोर्टलबाट मात्र सामान खरिद गर्न सुझाव दिएको छ । त्यस्तै, दर्ता नभएका अनलाइन पसललाई विश्वास नगर्ने, जथाभावी अग्रिम रकम नपठाउने र शंकास्पद अफरको प्रलोभनमा नपर्न पनि प्रहरीले आग्रह गरेको छ ।

उपभोक्ता स्वयं सचेत भएमा यस्ता अनलाइन ठगीका घटना न्यूनीकरण गर्न सकिने प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?