नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दिउँसो १ बजेदेखि मतदान हुँदै

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ ।

नयाँ नेतृत्व चयनका लागि बिहीबार दिउँसो १ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ । मतदानमा देशभर तथा प्रवासबाट आएका ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन् ।

केन्द्रीय निर्वाचन समितिले सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको अन्तिम नामावली बुधबार साँझ सार्वजनिक गरिसकेको छ ।

मतदानलाई व्यवस्थित र सहज बनाउन प्रदेश तथा प्रतिनिधित्व समूहका आधारमा विभिन्न मतदान केन्द्र निर्धारण गरिएको छ । बागमती प्रदेशका प्रतिनिधिका लागि राष्ट्रिय सभा गृहमा मतदान केन्द्र ‘क’ तोकिएको छ भने अन्य प्रदेश तथा समूहका प्रतिनिधिका लागि खुलामञ्चमा मतदान केन्द्र ‘ख’ स्थापना गरिएको छ ।

खुलामञ्चमा विभिन्न प्रदेश तथा समूहका प्रतिनिधिका लागि छुट्टाछुट्टै हलको व्यवस्था गरिएको छ । कोशी प्रदेश र तराई–मधेस समूहका प्रतिनिधिले खुलामञ्चमा तोकिएको केन्द्रबाट मतदान गर्नेछन् ।

गण्डकी प्रदेशका प्रतिनिधिका लागि ‘हिमाल हल’ र मधेस प्रदेशका प्रतिनिधिका लागि ‘तराई–मधेस हल’ निर्धारण गरिएको छ । त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधि, नेपाली जनसम्पर्क समिति (प्रवास) तथा विभिन्न भ्रातृ संस्थाका प्रतिनिधिका लागि ‘पहाड हल’ तोकिएको छ ।

निर्वाचन समितिले मतदानस्थलमा अनावश्यक भीडभाड हुन नदिन प्रतिनिधिहरूलाई बिहानैदेखि लाइनमा नबस्न आग्रह गरेको छ । मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने मतपत्रलगायत आवश्यक निर्वाचन सामग्रीको व्यवस्थासमेत पूरा गरिएको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?