खुलामञ्चबाट कांग्रेसको १५औँ महाधिवेशनमा ‘नयाँ इतिहास’ बनाउने देवराज चालिसेको दाबी

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशन ऐतिहासिक राजनीतिक महत्व बोकेको खुलामञ्चमा हुन लागेको बताएका छन् ।

शनिबार महाधिवेशनस्थल खुलामञ्चमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली राजनीतिक इतिहास र लोकतान्त्रिक आन्दोलनसँग जोडिएको स्थलमा कांग्रेसको महाधिवेशन हुन लागेको बताए ।

चालिसेका अनुसार २०३३ सालमा जननायक बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३६ सालको जनमतसंग्रहका सन्दर्भमा पहिलो ऐतिहासिक सार्वजनिक सम्बोधन खुलामञ्चबाट गरेका थिए । त्यस्तै, २०४६ सालको राजनीतिक परिवर्तनका लागि कांग्रेस नेता गणेशमान सिंहले पनि यही भूमिबाट परिवर्तनको उद्घोष गरेको उनले बताए ।

‘नेपालको राजनीतिमा खुलामञ्चको ऐतिहासिक र प्रतीकात्मक महत्व छ । बीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३६ सालको जनमतसंग्रहका सन्दर्भमा पहिलो ऐतिहासिक सम्बोधन यही स्थलबाट गर्नुभएको थियो,’ उनले भने, ‘गणेशमानजीले पनि २०४६ सालको परिवर्तनको उद्घोष यही भूमिबाट गर्नुभएको हो ।’

कांग्रेसको १५औँ महाधिवेशनले बीपी कोइरालाको विचारलाई भविष्यको नेपालसँग जोड्ने वैचारिक आधार तय गर्ने उनले बताए । आधुनिक, प्रविधियुक्त र सान्दर्भिक नेपालको परिकल्पनालाई बीपीको विचारसँग जोडेर अघि बढाउने लक्ष्य रहेको उनको भनाइ छ ।

महाधिवेशनले पार्टीको संरचनागत तथा नीतिगत सुधारमा समेत जोड दिने उनले बताए । युवाको सहभागिता विस्तार, नीति निर्माणमा प्रबुद्ध वर्ग र प्रवासी नेपालीको प्रतिनिधित्व तथा सुशासनलाई प्राथमिकतामा राखिने उनले जानकारी दिए ।

‘अबको शासन भनेको शासन होइन, सुधार र सुशासन हो । अब पद होइन, परिणाम खोजिरहेका छन् जनताले । त्यसकारण अबको राजनीति पदका लागि होइन, परिणामका लागि हुनुपर्छ,’ चालिसेले भने ।

उनका अनुसार आइतबारदेखि सुरु हुने महाधिवेशनको उद्घाटन समारोहपछि हुने बन्दसत्रमा पार्टीको आगामी राजनीतिक, आर्थिक, सामाजिक तथा सांगठनिक दिशाबारे विस्तृत छलफल हुनेछ ।

बन्दसत्रमा पार्टी सभापति गगन थापाले आगामी पाँच वर्षमा कांग्रेसले लिने राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी र परराष्ट्र नीतिसहितका विषय समेटिएको कार्यपत्र प्रस्तुत गर्नेछन् । उपसभापति विश्वप्रकाश शर्माले पनि समसामयिक विषयमा प्रतिवेदन प्रस्तुत गर्ने उनले बताए ।

महाधिवेशनमा पार्टीको विधान संशोधनमार्फत संरचनागत सुधारका विषयमा समेत छलफल हुने चालिसेले जानकारी दिए । विधानमा केही परिवर्तन यसअघि नै भइसकेको उल्लेख गर्दै उनले महाधिवेशनले नेतृत्व चयनभन्दा नीति निर्माणलाई विशेष प्राथमिकता दिएको बताए ।

महाधिवेशनमा सहभागी प्रतिनिधिले रु ३ हजार ५०० शुल्क तिरेर नाम दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । देशभरबाट प्रतिनिधि काठमाडौं आउने क्रम जारी रहेको र केही जिल्लामा निर्वाचन तथा मतगणना भइरहेकाले आइतबार बिहानसम्म सबै प्रतिनिधि काठमाडौं आइपुग्ने चालिसेले बताए ।

महाधिवेशनका गतिविधि, बसोबास, भोजन तथा अन्य कार्यक्रमसम्बन्धी सूचना प्रतिनिधिलाई क्यूआर कोड र एसएमएसमार्फत उपलब्ध गराउने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ ।

महाधिवेशनका क्रममा प्रत्येक दिन दुई पटक पत्रकार सम्मेलन गरी बन्दसत्रमा उठेका विषय, प्रतिनिधिका धारणा तथा पार्टीका गतिविधिबारे जानकारी गराइने कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?