ज्यापु समाजको मानार्थ सदस्य बन्ने सांसद खरेलको इच्छा, भने– ‘जगदीश खरेल नेवार भनेर चिनिन मन छ’

लोकपथ
35
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले नेवार समुदाय, मौलिक परम्परा र संस्कृतिप्रति आफ्नो गहिरो आत्मीयता रहेको बताएका छन् ।

ललितपुरमा आयोजित ज्यापु समाजको एक कार्यक्रममा बोल्दै सांसद खरेलले आफूलाई ‘जगदीश खरेल नेवार’ भनेर चिनाउने इच्छा रहेको बताए । समाजको विधान, नियम र परम्पराले दिए आफूलाई अधिकारविहीन ‘मानार्थ सदस्य’का रूपमा स्वीकार गर्न उनले ज्यापु समाजका अध्यक्ष तथा पदाधिकारीसमक्ष आग्रह गरे ।

‘अब त जगदीश खरेल मात्र होइन, जगदीश खरेल नेवार भनेर चिनिन मन छ,’ उनले भने, ‘एउटा सानो लोभ छ, कर्तव्य निर्वाह गर्नका लागि भए पनि ज्यापु समाजको मानार्थ सदस्य बन्न पाए कति गजब हुन्थ्यो होला । मलाई कुनै अधिकार चाहिँदैन । बरु मानार्थ सदस्य बनाएर बेलाबेलामा तिमी त समाजको सदस्य हौ, यो काम किन गरेनौ भनेर गाली गर्ने अधिकार यहाँहरूलाई होस् ।’

उनले अध्यक्ष बन्ने कुनै चाहना नरहेको तर समाजप्रतिको कर्तव्य निर्वाह गर्ने अवसर भने आफूले चाहेको बताए ।

सांसद खरेलले ललितपुरको कला, संस्कृति र अमूर्त सम्पदा संरक्षणमा आफूले सक्दो पहल गर्ने प्रतिबद्धता पनि जनाए । उनले आगामी हिउँदे अधिवेशनमार्फत अमूर्त सम्पदासम्बन्धी विधेयक अघि बढाउन पहल गर्ने बताए ।

नेपालमा हालसम्म अमूर्त सम्पदासम्बन्धी छुट्टै ऐन नहुँदा सांस्कृतिक पर्व, जात्रा र परम्पराको संरक्षणमा कठिनाइ भइरहेको उनको भनाइ थियो । प्रस्तावित विधेयकमा राज्यको तर्फबाट आर्थिक व्यवस्थापनसँगै स्थानीय समुदायको निर्णायक भूमिका सुनिश्चित गर्ने गरी कानुन निर्माणका लागि पहल भइरहेको उनले बताए ।

खरेलले ललितपुरलाई कला र संस्कृतिको जीवन्त सहरका रूपमा विकास गर्न समुदायको सहभागिता आवश्यक रहेको उल्लेख गरे । ललितपुरको पर्यटन प्रवद्र्धनका लागि ‘ललितपुर कन्क्लेभ’को अवधारणा अघि सार्दै उनले पाटनका ऐतिहासिक विभूति अरनिकोको जन्मस्थानबारे भइरहेको खोज तथा अनुसन्धानलाई निष्कर्षमा पुर्‍याएर पर्यटनसँग जोड्नुपर्ने बताए ।

उनले आफ्नो राजनीतिक यात्राभन्दा लामो समय ललितपुरको पाटन क्षेत्रमा बिताएको स्मरण गर्दै नेवार समुदायप्रति आफ्नो विशेष आत्मीयता रहेको बताए ।

खरेलले ज्यापु समाजसँग आफ्नो सम्बन्ध आजको नभएको उल्लेख गर्दै ललितपुरको कला, संस्कृति र समुदायसँगको सम्बन्धलाई व्यक्तिगत सम्बन्धभन्दा माथि रहेको भावनात्मक सम्बन्धका रूपमा व्याख्या गरे । उनले ज्यापु समाजका अग्रजहरूप्रति सम्मान व्यक्त गर्दै समाजको सदस्यका रूपमा अधिकारभन्दा कर्तव्य निर्वाह गर्न आफू इच्छुक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?