काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम सम्पन्न भइसकेको दाबी गरेका छन् ।
शनिबार ललितपुरमा ज्यापु समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख महर्जनले पुनर्निर्माण गर्न बाँकी रहेका सम्पदाको पनि अधिकांश काम सकिएको र केहीमा फिनिसिङको काम मात्रै बाँकी रहेको बताएका हुन् ।
उनले ललितपुर महानगरपालिका र ज्यापु समाजको सहकार्यमा ललितपुरको संस्कृति, संस्कार तथा मूर्त र अमूर्त सम्पदा संरक्षणको काम भइरहेको बताए ।
‘ललितपुर महानगरपालिका र ज्यापु समाजको सहकार्यमा हामीले यहाँका संस्कृति, संस्कार, सम्पदा, अमूर्त सम्पदा सबैको संरक्षण गरिरहेका छौँ,’ उनले भने, ‘सम्पदाको सन्दर्भमा मैले सबै काम सम्पन्न भएको दाबी गर्ने गरेको छु । कुनै पनि मठ, मन्दिर, शिवालय, देवाली बाँकी छैनन् । केही सम्पन्न नभएका सम्पदाको काम पनि ९५ प्रतिशतसम्म पूरा भइसकेको छ ।’
प्रमुख महर्जनले अमूर्त सम्पदाको संरक्षणमा भने अझै केही काम गर्न बाँकी रहेको बताए । विगतमा बजेट अभावका कारण रोकिएका अमूर्त सम्पदासम्बन्धी काम पनि अघि बढाउने तयारी भइरहेको उनले जानकारी दिए ।
उनले ज्यापु समाज र ललितपुर महानगरपालिकाबीच अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै सम्पदा संरक्षणका लागि सहकार्यलाई निरन्तरता दिने बताए ।
प्रमुख महर्जनले ज्यापु समाजले निर्माण गरेका भौतिक संरचनाको अधिकतम उपयोग गर्नुपर्नेमा पनि जोड दिए । उनका अनुसार ज्यापु समाजको भवन १६ हजार ५०० वर्गफिट र वृद्धाश्रम भवन २३ हजार ५०० वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको छ ।
ज्यापु समाजले सञ्चालन गरेको वृद्धाश्रममा ११० शय्याको क्षमता रहेको उल्लेख गर्दै उनले हाल सीमित क्षमतामा मात्रै सञ्चालन भइरहेको सेवाको क्षमता विस्तार गर्न आग्रह गरे ।
उनले आगामी ६ देखि १२ महिनाभित्र वृद्धाश्रमलाई पूर्ण ११० शय्याको क्षमतामा सञ्चालन गर्ने लक्ष्यसहित अघि बढ्न ज्यापु समाजलाई आग्रह गरे ।
वृद्धाश्रम सेवा २४ घण्टा सञ्चालन गर्न महानगरपालिकाले आवश्यक बजेट व्यवस्थापन गरेको पनि उनले जानकारी दिए । वृद्धाश्रममा पानीको समस्या समाधान गर्न ‘डिप ट्युबवेल’ निर्माणका लागि समेत महानगरपालिकाले बजेट व्यवस्था गरेको उनको भनाइ छ ।
वृद्धाश्रमलाई पूर्ण क्षमतामा सञ्चालन गर्न महानगरपालिका सहकार्य गर्न तयार रहेको बताउँदै उनले ज्यापु समाजको उद्देश्य पूरा गर्न उपलब्ध भौतिक संरचना र स्रोतसाधनको प्रभावकारी उपयोग आवश्यक रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया