एनआरएनएद्वारा बागलुङ र पर्वतका ९८ बाढी प्रभावित परिवारलाई राहत, रसुवाका ७५ परिवारलाई पनि दिने तयारी

लोकपथ
14
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी प्रभावित बागलुङ र पर्वतका ९८ घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ ।

बागलुङको निसीखोला गाउँपालिकाका ६८ परिवारलाई राहत वितरण गरिएको हो । बाढीका कारण निसीखोला जाने मुख्य सडक अवरुद्ध भएपछि एनआरएनएको टोलीले वैकल्पिक बाटो हुँदै करिब सात घण्टाको यात्रा गरेर प्रभावित क्षेत्रमा पुगेको थियो ।

टोलीले बुटवल–पाल्पा–रिडी–वामीटक्सार–बुर्तिबाङ हुँदै निसीखोला पुगेर राहत सामग्री वितरण गरेको हो । वडा अध्यक्ष सूर्यबहादुर घर्तीको समन्वयमा एनआरएनएका उपाध्यक्ष एवं विपद् व्यवस्थापन समितिका संयोजक मनोजकुमार श्रेष्ठ र प्रवक्ता सोम सापकोटालगायतले राहत हस्तान्तरण गरेका थिए ।

त्यस्तै, पर्वतको जलजला गाउँपालिका–४, ७ र ८ अन्तर्गत फर्से, ताङमाङ र लामाखेतका ३० परिवारलाई पनि राहत सामग्री वितरण गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यको समन्वयमा राहत वितरण गरिएको हो ।

प्रभावित परिवारलाई त्रिपाल, म्याट, ब्ल्याङ्केट, बाल्टिन, मग, चामल, दाल, खाने तेल, नुन, मसला तथा साबुन, मञ्जन र ब्रसलगायतका सामग्री वितरण गरिएको एनआरएनएले जनाएको छ ।

यसैगरी, भोटेकोशी बाढीमा आफन्त गुमाएका र काठमाडौंका विभिन्न स्थानमा काजक्रिया सकेर हाल कोठा भाडामा बसिरहेका थप चार परिवारलाई पनि ग्यास सिलिन्डर, भाँडाकुँडा र खाद्यान्नलगायत राहत सामग्री उपलब्ध गराइएको छ । यसअघि यस्ता ४४ परिवारलाई राहत दिइसकिएको थियो ।

रसुवाका बाढी प्रभावित परिवारका लागि राहत सामग्री लिएर जाने एनआरएनएको टोली भने प्राविधिक समस्याका कारण रोकिएको छ । टोलीले पर्सि रसुवा पुगेर ७५ प्रभावित परिवारलाई राहत वितरण गर्ने तयारी गरेको छ । स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित निकायसँग समन्वय गरेर परिवार छनोट गरिएको एनआरएनएले जनाएको छ ।

गत भदौ १० गतेको भोटेकोशी बाढी प्रभावितका लागि एनआरएनएले सञ्चालन गरेको अभियानमा हालसम्म ६ करोड ३४ लाख ४१ हजार १४३ रुपैयाँ संकलन भएको छ । अभियानका लागि कुल ९ करोड ३७ लाख ८१ हजार २२६ रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको एनआरएनएको वित्तीय प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?