जमलमा भोलिदेखि ‘चेम्बर बजार’, दशैँका लागि विशेष तयारी

लोकपथ
0
Shares

काठमाडौं । नेपाल महिला चेम्बरले आगामी भोलि (असोज १७ गते ) शनिबारदेखि काठमाडौंको जमलस्थित चेम्बर अफ कमर्सको भवनमा ‘चेम्बर बजार’ सञ्चालन गर्ने भएको छ ।

महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण र व्यापार विस्तार गर्ने उद्देश्यले बजार सञ्चालन गर्न लागिएको हो । बजारमा खाद्यान्न, लत्ताकपडा, हस्तकलाका सामग्रीलगायत विभिन्न वस्तु बिक्रीका लागि राखिनेछन् ।

बजारमा साल्ट ट्रेडिङलगायतका स्टल पनि रहनेछन् । महिला उद्यमीका उत्पादनसँगै आयात–निर्यातसँग सम्बन्धित वस्तुको समेत प्रवर्द्धन र बजारीकरण गरिने नेपाल महिला चेम्बरले जनाएको छ ।

महिलालाई उद्यमतर्फ आकर्षित गर्न सरकारी प्रक्रिया, व्यवसाय सञ्चालन, सीप तथा व्यावसायिक तालिमसम्बन्धी कार्यक्रम पनि सञ्चालन गरिनेछ । त्यस्तै, महिला स्वास्थ्यसम्बन्धी सचेतना र निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था पनि गरिने नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले जानकारी दिइन् ।

चाडपर्वलाई लक्षित गरी सुरुवातमा शनिबार र आइतबार बजार सञ्चालन हुनेछ । चाडपर्वपछि भने प्रत्येक शनिबार बजार सञ्चालन गरिनेछ ।

नेपाल महिला चेम्बरकी सचिव ईरा प्रसाईंका अनुसार ‘चेम्बर बजार’ लाई व्यापारिक मेलामा मात्र सीमित नगरी महिलाको आर्थिक सशक्तीकरण, सीप विकास, बजार पहुँच र व्यावसायिक क्षमता बढाउने अभियानका रूपमा अघि बढाइनेछ ।

नेपाल युथ चेम्बरसँगको सहकार्यमा सञ्चालन हुने बजारले महिला उद्यमीलाई आफ्ना उत्पादनको बजार विस्तार गर्न अवसर दिने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?