ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, असोज १२ देखि कार्यभार सम्हाल्ने

लोकपथ
14
Shares

काठमाडौं । ईसेवाको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन् ।

यसअघिका सीईओ जगदीश खड्काको कार्यकाल सकिएपछि ईसेवा सञ्चालक समितिले शर्मालाई नयाँ सीईओ नियुक्त गरेको हो ।

मोबाइल बैंकिङ र क्यूआर भुक्तानीको प्रयोग बढ्दै जाँदा पछिल्लो समय ईसेवाजस्ता डिजिटल वालेटको व्यवसाय विस्तारमा चुनौती देखिएको छ । यस्तो अवस्थामा वालेट व्यवसायलाई थप विस्तार गर्ने जिम्मेवारी शर्माको काँधमा आएको छ ।

शर्माले २०५६ साल जेठमा ओरियन्टल सहकारीबाट आफ्नो करियर सुरु गरेका थिए । त्यसपछि २०५७ साल माघमा तत्कालीन नेपाल बंगलादेश बैंक (हाल नबिल बैंक) प्रवेश गर्दै औपचारिक बैंकिङ करियर सुरु गरेका थिए ।

बैंक प्रवेश गरेको करिब ७–८ महिनापछि उनी हिमालयन बैंक पुगे । हिमालयन बैंकमा करिब साढे ७ वर्ष काम गर्दा उनी कार्ड डिभिजनका वरिष्ठ अधिकृत बने ।

२०६४ साल माघमा उनी कार्ड डिभिजनकै प्रबन्धकका रूपमा नबिल बैंकमा प्रवेश गरेका थिए । नबिल बैंकमा उनले १८ वर्षभन्दा बढी समय काम गरे । यस अवधिमा उनको १० पटक सरुवा तथा बढुवा भएको थियो ।

नबिलमा सुरुका करिब १० वर्ष उनले कार्ड डिभिजनमा काम गरे । त्यसपछि रेमिट्यान्स र बैंकासुरेन्सको जिम्मेवारी सम्हाल्दै खुद्रा बैंकिङ व्यवसायको नेतृत्व गरे ।

कोभिड महामारीका बेला उनी नबिल बैंकको गण्डकी प्रदेश प्रबन्धक थिए । त्यसपछि उनले डिजिटल बैंकिङ प्रमुख, अपरेसन प्रमुख, प्रमुख सञ्चालन अधिकृत ९सीओओ० लगायतका जिम्मेवारी सम्हाले ।

करिब पाँच वर्षअघि उनी नबिल बैंकको सीओओ बनेका थिए । त्यसपछि नीति निर्माण तथा रणनीतिक योजना विभागको नेतृत्व गरे । उनले चिफ अल्टरनेटिभ च्यानल सेल र चिफ मार्केटिङ अफिसरको जिम्मेवारीसमेत सम्हालेका थिए ।

भदौ ५ गते नबिल बैंकबाट बाहिरिएका शर्मालाई ईसेवा सञ्चालक समितिले नयाँ सीईओ नियुक्त गरेको हो ।

आगामी सोमबारदेखि कार्यभार सम्हाल्ने शर्मामाथि ईसेवालाई थप विस्तार गर्दै नेपालको डिजिटल भुक्तानी तथा वालेट बजारमा नयाँ गति दिने जिम्मेवारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?