काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन् । नदीमा पानीको सतह उच्च जोखिमको तहमा पुगेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
अपराह्न २ः१५ बजेसम्म सप्तकोशीमा २ लाख ४० हजार ५५५ क्युसेक पानीको बहाव मापन गरिएको छ । बहाव निरन्तर बढिरहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले तल्लो तटीय क्षेत्र तथा डुबानको जोखिममा रहेका बस्तीमा विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।
महाशाखाका अनुसार चतारा क्षेत्रमा सप्तकोशीको जलसतह बढ्दो क्रममा रहेको छ । नदीको बहाव अझै बढ्न सक्ने भएकाले नदी किनार तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्क रहन भनिएको छ ।
कोशी ब्यारेजका धेरै ढोका खोलिएपछि नेपालतर्फको पानीको बहाव भारतको बिहारतर्फ पनि बढ्ने भएकाले दुवैतर्फको जोखिमलाई ध्यानमा राख्दै पानीको व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको छ ।
बाढीको जोखिम बढेकाले नदी आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया