चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिन व्यवसायीलाई निर्देशन

लोकपथ
0
Shares

काठमाडौं । चाडपर्वका बेला सार्वजनिक यातायातको टिकट बिक्रीलाई व्यवस्थित बनाउन अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यात्रुको सहज र सुरक्षित यात्राका लागि अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउन यातायात व्यवसायीलाई निर्देशन दिएको हो ।

महासङ्घका महासचिव डेकनाथ गौतमले शुक्रबार जारी गरेको विज्ञप्तिमा देशभर भारी वर्षा तथा बाढीपहिरोको जोखिम रहेकाले चाडपर्वमा सार्वजनिक यातायात सञ्चालनलाई व्यवस्थित बनाउन विभिन्न व्यवस्था गरिएको जनाइएको छ ।

महासङ्घले यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्र सवारी सञ्चालन गर्न र अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउन भनेको छ । उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारीसाधनको अनुगमनका लागि सम्बन्धित निकायसँग समन्वय गरिने पनि महासङ्घले जनाएको छ ।

टिकट बिक्री गर्ने कर्मचारीलाई अनिवार्य परिचयपत्र उपलब्ध गराउनुपर्नेछ । अनधिकृत काउन्टर तथा परिचयपत्र र पोसाक नलगाएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्य नियन्त्रण गर्न पनि व्यवसायीलाई निर्देशन दिइएको छ ।

महासङ्घले यात्रुलाई आधिकारिक काउन्टर वा परिचयपत्र भएका कर्मचारीबाट मात्र टिकट लिन आग्रह गरेको छ । सार्वजनिक सवारीमा यात्रा गर्दा अनिवार्य रूपमा टिकट लिएर मात्र यात्रा गर्नुपर्ने व्यवस्था मिलाउन पनि भनिएको छ ।

बाढीपहिरो र सडक अवरोधको जोखिमलाई ध्यानमा राख्दै मुख्य सडक तथा राजमार्गको नियमित निरीक्षण, मर्मतसम्भार र पहिरो नियन्त्रणका कामलाई प्राथमिकता दिन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

यात्रुलाई खाना तथा खाजा खुवाउँदा सरकारले तोकेको मापदण्ड पूरा गरेका स्थानमा मात्र सवारी रोक्न महासङ्घले व्यवसायीलाई भनेको छ ।

त्यस्तै, लामो दूरीका सवारीसाधनका चालकको स्वास्थ्य परीक्षण गर्न, बिरामी चालकको स्थानमा अर्को चालकको व्यवस्था गर्न र लामो दूरीका सवारीमा कम्तीमा दुई चालक राख्न आग्रह गरिएको छ। १८ वर्ष नपुगेका बालबालिकालाई चालक वा अन्य काममा नलगाउन पनि व्यवसायीलाई निर्देशन दिइएको छ ।

चाडपर्वमा सवारीसाधनको चाप र दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले प्रभावकारी अनुगमन तथा निगरानी गर्न सम्बन्धित निकायलाई महासङ्घले आग्रह गरेको छ ।

आवश्यक सवारीसाधनको व्यवस्था, यात्रुवाहक सवारीको रुट परमिट खुला गर्ने तथा अग्रिम टिकट बुकिङ र ठूला सवारीसाधनको आवतजावतबारे सरोकारवालासँग छलफल गरी समयमै सूचना जारी गरिने महासङ्घले जनाएको छ ।

सडक र मौसमको अवस्थाबारे थप छलफल गरेपछि अग्रिम टिकट बुकिङ खुला गर्ने मिति र समयबारे छुट्टै सूचना जारी गरिने महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?