असोज ९ देखि ११ गतेसम्म बागमतीमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

लोकपथ
70
Shares

काठमाडौं । बागमती प्रदेशका विभिन्न स्थानमा आगामी असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बागमती प्रदेश सरकारको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले आज सूचना जारी गर्दै सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक सावधानी र पूर्वतयारी अपनाउन प्रदेशवासीलाई आग्रह गरेको हो ।

नेपाल मौसम विज्ञान विभागका अनुसार उक्त अवधिमा प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुनसक्ने सम्भावना छ । भारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्नुका साथै आकस्मिक बाढी, पहिरो र डुबानको जोखिम रहेको मन्त्रालयले जनाएको छ ।

वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले यात्रा गर्नुअघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन मन्त्रालयले आग्रह गरेको छ । नदी तथा खोला किनार, पहिरोको जोखिम भएका क्षेत्र, भिरालो जमिन र डुबान हुनसक्ने स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन भनिएको छ ।

जोखिमको संकेत देखिएमा समयमै नजिकको सुरक्षित स्थानमा जान तथा स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गर्न मन्त्रालयले सुझाव दिएको छ । अत्यावश्यक अवस्थाबाहेक लामो दूरी तथा रातको समयमा यात्रा नगर्न पनि आग्रह गरिएको छ ।

मन्त्रालयले बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिन र पशुचौपाया, खाद्यान्न, औषधि, महत्वपूर्ण कागजातलगायत आवश्यक सामग्री सुरक्षित स्थानमा राख्न अनुरोध गरेको छ ।

सम्बन्धित सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवालालाई आवश्यक पूर्वतयारीसहित सतर्क अवस्थामा रहन र जोखिममा रहेका नागरिकलाई आवश्यकताअनुसार समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

मन्त्रालयले मौसम विज्ञान विभाग, संघीय तथा प्रदेश सरकार, स्थानीय तह र सुरक्षा निकायबाट जारी हुने आधिकारिक पूर्वानुमान, पूर्वसूचना तथा चेतावनी नियमित रूपमा हेर्न र सम्बन्धित निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ ।

वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता १२३४, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल १११४ तथा मन्त्रालयगत विपद् सम्पर्क व्यक्ति ९७६९७६१२१४ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आधिकारिक सूचनालाई मात्र आधार बनाउन र अफवाहमा विश्वास नगर्नसमेत प्रदेशवासीलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?