सरुवा भएका कर्मचारीलाई तोकिएको समयमै रमाना दिन मन्त्रालयको आग्रह

लोकपथ
21
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको समयभित्र अनिवार्य रूपमा रमाना दिन सबै सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई यस्तो आग्रह गरेको हो ।

सरुवा भएका कर्मचारीलाई विभिन्न बहानामा पुरानै कार्यालयमा राखेर काम गराउने र सरुवा भएपछि पनि त्यहीँबाट तलबभत्ता दिने गरेको पाइएपछि मन्त्रालयले पत्राचार गरेको हो ।

मन्त्रालयले निजामती सेवा नियमावलीअनुसार सरुवा भएका कर्मचारीलाई तोकिएको समयमा रमाना नदिई पुरानै कार्यालयबाट तलबभत्ता भुक्तानी गरिएमा त्यसरी बढी अवधिको भुक्तानी भएको रकम सम्बन्धित कार्यालय प्रमुख र लेखा प्रमुखबाट असुलउपर गरिने जनाएको छ ।

मन्त्रालयका अनुसार कर्मचारीलाई समयमै रमाना नदिँदा स्थानीय तहमा जनशक्ति अभाव भई सेवा प्रवाहमा समेत समस्या भइरहेको छ ।

मन्त्रालयले कानुनले तोकेको अवधिभित्र कर्मचारीलाई रमाना दिन र त्यसो नगरे कानुनबमोजिम कारबाही हुने स्पष्ट पारेको छ ।

त्यस्तै, सरुवा भएका कर्मचारीलाई रमाना नदिई तलबभत्ता भुक्तानी गरेको पाइएमा लेखापरीक्षणका क्रममा बेरुजु कायम गर्न महालेखा परीक्षकको कार्यालयलाई आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?