रसुवा बाढीको साइड इफेन्ट : मुस्ताङ भन्सारबाट दैनिक औसत ३० करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन

लोकपथ
42
Shares

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ ।

भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी–केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरला नाकाबाट चिनियाँ मालवस्तु पैठारीको क्रम बढ्दो रहेको उल्लेख गरे । शुक्रबारमात्रै मुस्ताङ भन्सार कार्यालयले एकैदिन २७ करोड ११ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । २२ भदौपछि मुस्ताङ भन्सारबाट दैनिक औसत ३० करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुडालको भनाइ छ ।

प्रमुख चुडालका अनुसार शुक्रबारमात्रै ७१ कन्टेनर र १०६ विद्युतीय सवारीसाधन (ईभी) को भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरेका छन् । रसुवागढीनाका बन्द भएको १० भदौपछि २५ भदौ शुक्रबारसम्म कोरलानाकाबाट नेपाल भित्रिएका ४३४ वटा कन्टेनर र ६४१ वटा विद्युतीय सवारीसाधनको भन्सार कार्यालयमा जाँचपास गराइएको उनले बताए ।

चालु आव २०८३÷८४ को साउनदेखि २५ भदौसम्म कोरला नाका हुँदै नेपाल भित्रिएका कन्टेनर र विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गरिँदा दुई अर्ब ३१ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार प्रमुख चुडालले बताए । ९ भदौसम्म १३३ कन्टेनर र १६३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका थिए ।

२०८२ भदौअघि उपल्लो मुस्ताङका नागरिकका लागिमात्रै बाह्रै महिना खुला गरिएको कोरला नाका गत वर्ष तातोपानी र रसुवागढीनाका बाढीपहिरो तथा नदी कटानले सडक अवरुद्ध भएपछि नेपाल सरकारले गत वर्षको ३१ भदौदेखि कोरला नाकालाई वैकल्पिक रूपमा निकासी तथा पैठारी नाकाका रूपमा खुला गरेको थियो । भन्सार प्रमुख चुडालका अनुसार गत आव २०८२/८३ मा उत्तरी कोरलानाकाबाट भएको निकासी तथा पैठारीबाट मुस्ताङ भन्सारले छ अर्ब ९२ करोड रुपैयाँको राजस्व संकलन गरेको थियो ।

त्यस वर्ष पैठारीतर्फ १४ अर्ब ४१ करोड र निकासीतर्फ २० करोड ५० लाख रुपैयाँबराबरको मालवस्तुको कारोबार भएको थियो । गत वर्ष कोरला नाका हुँदै तीन हजार २२३ वटा विद्युतीय सवारी र एक हजार ८७३ वटा कन्टेनरको जाँचपास गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?