पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

लोकपथ
49
Shares
फाइल तस्बिर

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ र ५ को सिमानामा बग्ने हुङ्गा खोला पहिरोले थुनिएपछि दुधकोशी नदीको तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

आज बिहान ७ बजे पहिरो खसेर खोला थुनिएपछि करिब १०० मिटर लामो र १६ मिटर अग्लो बाँधजस्तो संरचना बनेको प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले जानकारी दिए । पहिरो खस्ने क्रम नरोकिएकाले खोलामा पानीको मात्रा बढिरहेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी थापामगरका अनुसार माथिल्लो भागबाट ठूलो पहिरो खसेपछि खोलामा करिब १६ मिटर उचाइ र १०० मिटर फराकिलो ड्यामजस्तो अवस्था बनेको छ । पहिरो नरोकिएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको उनले बताए ।

हुङ्गा खोला दुधकोशी नदीमा मिसिने भएकाले पहिरोका कारण बनेको अस्थायी तालको पानी एक्कासि बाहिरिएमा तल्लो तटीय क्षेत्रमा असर पर्न सक्ने प्रशासनले जनाएको छ ।

सोलुखुम्बुसँगै दुधकोशी नदीको तल्लो तटीय क्षेत्रमा पर्ने ओखलढुङ्गा र खोटाङका बासिन्दालाई समेत सावधानी अपनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी थापामगरले बताए ।

खोला थुनिएको जानकारी पाएपछि महाकुलुङ गाउँपालिकाले घटनास्थलतर्फ स्काभेटर पठाएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङले जानकारी दिए । घटनास्थलको अवस्था बुझेर आवश्यक व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि स्थानीय तहबाट पहल भइरहेको उनले बताए ।

हुङ्गा खोला तथा आसपासका क्षेत्रमा विभिन्न जलविद्युत् आयोजना निर्माणाधीन छन् । स्थानीय प्रशासनले खोला तथा नदी आसपासका बासिन्दालाई सचेत रहन र सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?