कोरला नाका हुँदै नेपाल भित्रिन थाल्यो प्रोटोन ई.मास५, अब छिट्टै ग्राहकले पाउने

लोकपथ
119
Shares

काठमाडौं । बाढीका कारण रसुवागढी नाका बन्द भएपछि वैकल्पिक मार्गबाट चीनतर्फको नाकाबाट सवारीसाधन भित्रिन थालेको छ ।

भदौ १० को रसुवा बाढीपछि रसुवागढी नाका पूर्ण रुपमा बन्द रहँदा कोरला नाकाबाट सवारीसाधन भित्रिन थालेका हुन् ।

चाडपर्व नजिकिँदै जाँदा चीनबाट नयाँ ब्राण्डका सवारीसाधनहरु आउने मौसममा बाढीले सडक बगाउँदा समस्या सिर्जना भइरहेको छ ।

नेपाल चीन जोड्ने छोटो नाका मानिने रसुवागढी केरुङ नाका बन्द भएपछि ईभी गाडीहरु नेपाल भित्रिन पाएका थिएनन् ।

नेपाल र तिब्बतलाई जोड्ने कोरला नाका हुँदै ईभी गाडी प्रोटोन ई.मास ५ नेपाल भित्रिन थालेको छ ।

गत साउनको पहिलो साता नेपालमा प्रोटोन ई–मास५ नेपालमा औपचारिक रुपमा सार्वजनिक गरिएको थियो ।

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले प्रोटोन ई–मास५ लाई नेपाली बजारमा ल्याएको थियो ।

नेपालमा सार्वजनिक र बुकिङ समेत भइसकेको अवस्थामा रसुवागढी नाकामा बाढीले क्षति पुर्‍याउँदा समस्या उत्पन्न गरेको थियो । तर कोरला नाका हुँदै प्रोटोन ई.मास ५ नेपाल भित्रिएपछि ग्राहकहरुले छिट्टै नै पाउने कम्पनीले जनाएको छ ।

नाइमा तथा नाडा अटो शोमा राखिएका प्रोटोन ई मास ५ आम ग्राहकहरुको रोजाइमा परेको ब्राण्ड हो । तर रसुवागढी बाढीका कारण आयातमा समस्या देखिए पनि कोरला नाका हुँदै प्रोटोन ई.मास ५ भित्राउन थालिएको हो ।

चीनतर्फबाट कन्टेनरमा राखेर कार ल्याउने र कोरला नाकापछि नेपालतर्फ सडक मार्गबाट गुडाएर काठमाडौं लगायत अन्य शहरहरुमा पुर्‍याइने बुझिएको छ ।

प्रोटोन ई.मास ५ को बारेमा

प्रोटोन ई. मास ५ मलेसियाको कार निर्माता कम्पनी प्रोटोनको पहिलो इलेक्ट्रिक कार हो ।

यो बी सेग्मेन्टको कम्प्याक्ट ह्याचब्याक कार हो, जुन चिनियाँ कम्पनी जीलीको झिङ्गुयान मोडलमा आधारित रहेको छ । सन् २०२५ को अन्त्यतिर मलेसियामा सार्वजनिक भएको यो कारले नेपाली ग्राहकहरुको मन जित्न सफल बनेको छ ।

हाल प्रोटोनको ई. मास ५ दुई भेरियन्टमा उपलब्ध रहेका छन् । कम्पनीका अनुसार प्राइम भेरियन्ट अन्तर्गत ३०.१२ किलोवाट आवरको ब्याट्री दिइएको छ, जसको क्षमता २२५ किलोमिटर रेन्ज दिनेछ । यसैगरी प्रिमियर भेरियन्टमा समेत यो गाडी उपलब्ध हुनेछ । प्रिमियर भेरियन्ट अन्तर्गत ४०.१६ किलोवाट आवर ब्याट्री क्षमता रहेको छ । जसले ३२५ किलोमिटरसम्म रेन्ज प्रदान गर्न सक्ने कम्पनीको भनाइ रहेको छ ।

यस्ता छन् विशेषताहरु

यसको इन्टेरियर निकै आकर्षक छ । यसमा ८.८ इन्चको इन्स्ट्रुमेन्ट क्लष्टर, मल्टिफंशनल स्टेरिङ ह्वील, भेरियन्ट अनुसार १०.१ र १४.६ इन्चको स्क्रीन उपलब्ध छ ।

राम्रो ह्याण्डलिङ र ड्राइभिङ अनुभवका लागि उपयोगी रहेको यो कार रियर ह्वील ड्राइभ (आरएचडी) प्रणालीमा आधारित रहेको छ ।

यो कारको मुख्य विशेषतामा १४.६ इन्चको टच स्कृन, ३६० डिग्री क्यामेरा (थ्री सिक्स्टी डिग्री क्यामेरा), वायरलेस एन्ड्रोइड अटो, एप्पल कार प्ले लगायत रहेका छन् । ३७५ लिटरको बुट स्पेस उपलब्ध रहेको उक्त कारमा जसलाई फोल्ड गरेर १३ सय २० लिटरसम्म बनाउन सकिनेछ ।

कारको अघि ७० लिटरको फ्रंक स्टोरेज समेत उपलब्ध रहेको छ ।

नेपालमा पछिल्लो समय बढ्दो ईभीको प्रयोगमा यसले ग्राहकको मन जित्ने विश्वास लिइएको बताइन्छ । प्रिमियर मोडल अन्तर्गत यो कार डीसी फास्ट चार्जिङले ३० देखि ८० प्रतिशत चार्ज केवल २० मिनेट हाराहारीमै पूरा गर्न सकिनेछ ।

कम्पनीले अन्य गाडीको तुलनामा यसमा सिटको मुनी समेत सामान राख्न मिल्ने सुविधा थप गरिदिएको छ । सिट मुनी ड्रयर जस्तै स्पेस बनाइएको छ, यदी लामो यात्रामा जाने हो भने आफू र यात्रामा जानेहरुको सामान राख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?