अमेरिका–क्यानडा व्यापार विवाद थप चर्कियो, क्यानडाका सामानमा अमेरिकाले लगायो नयाँ प्रतिबन्ध

लोकपथ
42
Shares

काठमाडौं । अमेरिका र क्यानडाबीचको व्यापार विवाद थप चर्किएको छ । अमेरिकाले क्यानडाबाट आयात हुने मदिराजन्य पेय पदार्थ, मोटरसाइकल तथा विभिन्न वस्तुमा नयाँ प्रतिबन्ध र कर लगाउने घोषणा गरेको छ ।

ह्वाइट हाउसका अनुसार अमेरिकाले लगाएको नयाँ आयात प्रतिबन्ध आगामी सेप्टेम्बर २९ देखि लागू हुनेछ । क्यानडाले अमेरिकी सामानमा नयाँ कर लगाएपछि अमेरिकाले त्यसको जवाफमा यस्तो कदम चालेको हो ।

अमेरिकाले बियर, वाइन, ह्विस्की, रम, भोड्का, ब्रान्डीलगायत अधिकांश मदिराजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । मदिरारहित बियर, ह्वे प्रोटिन र मोलान्सेस पनि प्रतिबन्धित वस्तुको सूचीमा परेका छन् ।

त्यस्तै, चिज, कागज, आल्मुनियम, काठ, फर्निचर र लाइटिङका सामानमा पनि ५० प्रतिशतसम्म कर लगाउने व्यवस्था गरिएको छ ।

यसअघि अमेरिकाले करिब २० अर्ब डलर बराबरका क्यानडेली सामानमा ५० प्रतिशत कर लगाएको थियो। दुई देशबीच व्यापारसम्बन्धी वार्ताका विभिन्न प्रयास सफल हुन नसकेपछि अमेरिकाले यस्तो कदम चालेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने सवारीसाधनमा लाग्दै आएको २५ प्रतिशत कर बढाएर ५० प्रतिशत पुर्‍याउने चेतावनी पनि दिएका छन् । यो व्यवस्था आगामी जनवरी १ देखि लागू हुने बताइएको छ ।

अमेरिकाको कदमपछि क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकामाथिको निर्भरता घटाउँदै व्यापारका अन्य विकल्प खोज्न आग्रह गरेका छन् ।

क्यानडाले पनि अमेरिकाबाट आयात हुने स्टिल, फर्निचर, कपडा र इलेक्ट्रोनिक्सलगायत करिब २० अर्ब डलरका सामानमा १५ देखि ५० प्रतिशतसम्म कर लगाएको छ ।

दुई देशबीच बढिरहेको व्यापार तनावले लामो समयदेखिको उनीहरूको आर्थिक तथा राजनीतिक सम्बन्धमा समेत असर पर्न सक्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?