काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले ठूलो रकम प्रणालीबाट खिचिरहेको छ । चालु आर्थिक वर्ष सुरु भएयता राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत १३ खर्ब ३ अर्ब ६० करोड रुपैयाँ खिचिसकेको छ ।
बैंक तथा वित्तीय संस्थामा निक्षेप बढे पनि त्यसअनुसार कर्जा विस्तार हुन नसकेपछि प्रणालीमा अतिरिक्त रकम बढेको हो । यही अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बुधबार थप ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षमा अहिलेसम्म राष्ट्र बैंक ऋणपत्रमार्फत ४ खर्ब रुपैयाँ र निक्षेप संकलन उपकरणमार्फत ९ खर्ब ३ अर्ब ६० करोड रुपैयाँ प्रणालीबाट खिचिएको छ ।
बुधबार ५५ अर्ब रुपैयाँको दुईमहिने निक्षेप संकलन उपकरण जारी गर्न लागिएको हो । यसको बोलकबोल दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत हुनेछ । यसको साँवा र ब्याज आगामी कात्तिक १८ गते भुक्तानी गरिनेछ ।
यस उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बैंक तथा वित्तीय संस्थालाई प्राथमिकता दिनेछ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार भदौ १७ गतेसम्म बैंक तथा वित्तीय संस्थामा कुल ८३ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप रहेको छ । तर कर्जा प्रवाह भने ५९ खर्ब ८७ अर्ब रुपैयाँ मात्रै छ ।
निक्षेप र कर्जाबीचको ठूलो अन्तरका कारण बैंकिङ प्रणालीमा झन्डै १५ खर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ । यसकै कारण अन्तरबैंक ब्याजदर पनि २.७५ प्रतिशत आसपास रहेको छ ।
बैंक तथा वित्तीय संस्थाले अतिरिक्त रकम सरकारी ऋणपत्रलगायतका क्षेत्रमा लगानी गरिरहेका छन् । राष्ट्र बैंकले भने प्रणालीमा आवश्यकभन्दा बढी रकम जम्मा हुन नदिन निक्षेप संकलन, राष्ट्र बैंक ऋणपत्र र स्थायी निक्षेप सुविधाजस्ता उपकरण प्रयोग गर्दै आएको छ ।
निक्षेप बढ्ने तर कर्जा विस्तार सुस्त रहने अवस्था कायम रहेमा बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्नु राष्ट्र बैंकका लागि निरन्तर चुनौती बन्ने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया