बाढीपीडित व्यवसायीले मागे ऋण नवीकरण र बीमा रकमको तत्काल भुक्तानी

लोकपथ
0
Shares

काठमाडौं । भोटेकोशी–त्रिशूली करिडोरमा भदौ १० गते आएको विनाशकारी बाढीबाट नुवाकोटका करिब १ हजार ८ सयभन्दा बढी उद्योग तथा व्यवसायमा क्षति पुगेको छ । बाढीपीडित व्यवसायीहरूले तत्काल राहत तथा व्यवसाय पुनरुत्थानका कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालसँग भएको छलफलमा व्यवसायीहरूले बाढीबाट पूर्णरूपमा क्षतिग्रस्त उद्योग तथा व्यवसाय पुनः सञ्चालनका लागि सरकारले विशेष प्याकेज ल्याउनुपर्ने बताएका हुन् ।

बाढीका कारण क्रसर उद्योग, टिप्परलगायत खोलाको आसपासमा रहेका धेरै व्यवसाय तथा संरचना बगाएको व्यवसायीहरूले बताएका छन् । अधिकांश व्यवसाय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सञ्चालन गरिएको भन्दै उनीहरूले ऋणको ब्याज मिनाहा, ऋण नवीकरण तथा बीमा दाबीको रकम तत्काल उपलब्ध गराउन माग गरेका छन् ।

एक व्यवसायीले बाढीले उद्योग तथा व्यवसायसँगै आवश्यक कागजातसमेत बगाएकाले बीमा दाबी गर्न समेत समस्या भएको बताए । बीमा रकम झन्झटरहित रूपमा उपलब्ध भए व्यवसाय पुनः सञ्चालन गर्न सहज हुने उनको भनाइ छ ।

अर्का व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण कम्तीमा तीन वर्षका लागि नवीकरण गर्नुपर्ने माग गरे । साथै, बीमा कम्पनीबाट पाउनुपर्ने रकम बिना झन्झट तत्काल उपलब्ध गराउन पहल गर्न महासंघका पूर्वअध्यक्ष ढकालसँग आग्रह गरे ।

बाढीपीडित व्यवसायीहरूले निजी क्षेत्रको छुट्टै कोष स्थापना गरी प्रभावित उद्योगी तथा व्यवसायीलाई सहयोग गर्नुपर्ने प्रस्तावसमेत अघि सारेका छन् ।

लामो समय विदेशमा काम गरेर कमाएको रकम स्वदेशमै व्यवसायमा लगानी गरेका अर्का व्यवसायीले बाढीपछि व्यवसाय सञ्चालन गर्ने आधारसमेत नरहेको बताए । उनले सरकारले दीर्घकालीन नीति बनाउनुका साथै तत्काल व्यवसाय पुनरुत्थानको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

छलफलमा पूर्वअध्यक्ष ढकालले बाढीबाट प्रभावित उद्योगी तथा व्यवसायीको आधारभूत आवश्यकता पूरा गर्न पहिलो प्राथमिकता दिनुपर्ने बताए । खोज, उद्धार र राहतका काममा राजनीतिक दल, सरकार र निजी क्षेत्र सबै मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

ढकालले बाढीपीडित उद्योगी व्यवसायीको समस्या समाधानका लागि महासंघले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले ऋण तथा बीमासम्बन्धी समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीसँग छलफल गर्ने बताए ।

उनले संकटको समयमा व्यवसायीहरूलाई एक्लो महसुस नगर्न आग्रह गर्दै निजी क्षेत्र उनीहरूको साथमा रहेको बताए । साथै, ग्लोबल आइएमई बैंकको तर्फबाट गर्न सकिने सहयोगका विषयमा आवश्यक निर्णय गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?