काठमाडौं । नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ‘ब्रेक थ्रु’ नभएसम्म खोज तथा उद्धार कार्य जारी राख्ने जनाएको छ । सेनाका अनुसार ती आयोजनाका टनेलमा करिब १२१ जना नागरिक फसेको हुनसक्ने अनुमान गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा सहायक रथी सुवाशजङ्ग थापाले सरकारले काम रोक्न निर्देशन नदिएसम्म टनेलमा खोज तथा उद्धार नरोकिने बताए। उनका अनुसार टनेलमा तीव्र गतिमा खोजी भइरहेको छ ।
रसुवागढी जलविद्युत् आयोजनामा खोज तथा उद्धार टोली र आयोजनाका प्रतिनिधि ‘पावरहाउस’ तथा ‘कन्ट्रोल प्वाइन्ट’सम्म पुगेर खोजी गरिरहेको उनले जानकारी दिए ।
नेपाली सेनाले विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धारको कामलाई हवाई, जमिन र टनेल गरी तीन क्षेत्रमा विभाजन गरेर अघि बढाएको जनाएको छ । सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले सरकारको निर्देशनअनुसार सम्बन्धित सबै निकायसँग समन्वय गरी उद्धार कार्य भइरहेको बताए ।
उनका अनुसार विदेशबाट आएका उद्धारकर्मीसँग समेत सहकार्य भइरहेको छ । बाढीका क्रममा नेपाली सेनाका ४५ जना सैनिकसमेत बेपत्ता भएको उनले जानकारी दिए ।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको बताए । हेलिकप्टरलाई अहिले खोज तथा उद्धारमा प्राथमिकता दिइएकाले केही दुर्गम क्षेत्रमा भने हेलिकप्टरबाट राहत पुर्याउन नसकिएको उनको भनाइ छ ।
त्यस्ता क्षेत्रमा त्रिशूली, रसुवालगायत हेलिकप्टर पुग्न सक्ने नजिकका स्थानबाट खाद्य सामग्री पठाउने प्रयास भइरहेको उनले बताए । स्थानीय तहसँग समन्वय गरेर राहत वितरण भइरहेको र छिमेकी मुलुकसँग सहकार्य गरी खोज, उद्धार तथा राहतका लागि आवश्यक सहयोग लिइरहेको उप्रेतीले जानकारी दिए ।
उनका अनुसार विपद् प्रभावित क्षेत्रमा राज्यका तर्फबाट खोज, उद्धार र राहतका लागि सुरक्षा निकायलाई चौबीसै घण्टा परिचालन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया