विदेशी उद्धार टोली खटिएको चिलिमेमा कसरी हुँदैछ काम ?

लोकपथ
56
Shares

काठमाडौं । २० मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको टनेलमा फसेका ६ जनाको उद्धार कार्य जारी छ ।

उद्धारका लागि विदेशी उद्धारकर्मीसहित करिब ३५ जनाको टोली परिचालन गरिएको छ ।

चिलिमे जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक बाबुराजा महर्जनका अनुसार भौगोलिक अवस्था, दुर्गम स्थान र खराब मौसमका कारण उद्धारमा कठिनाइ भइरहेको छ ।

उद्धार टोलीले २५० मिटर लामो टनेलमा करिब १३० मिटरभित्रसम्म पुगिसकेको छ । टनेलसम्म पुग्न र उद्धारपछि फर्किन समेत समस्या भएकाले काम अपेक्षाअनुसार छिटो हुन नसकेको अधिकारीहरूले बताएका छन् ।

आयोजनामा रहेका ७१ जना भने सुरक्षित स्थानमा पुगेर ज्यान जोगाउन सफल भएका छन् ।

उद्धारका लागि भारतीय सेनाको टोलीसँगै नेपाली सेनाको धुन्चेबाट खटिएको टोली पनि परिचालन गरिएको छ । प्रबन्ध निर्देशक महर्जनका अनुसार बिहान ११ बजेअघि उद्धार टोली टनेलतर्फ जान कठिन हुने र दिउँसो २ बजेभित्र फर्किनुपर्ने अवस्था रहेको छ ।

टनेलभित्र पानी वा अन्य अवरोध कम हुँदै गएको भए छिटो उद्धार गर्न सकिने अनुमान गरिएको छ । तर टनेल भरिएको अवस्थामा उद्धारमा थप समस्या हुन सक्ने अधिकारीहरूले बताएका छन् ।

उद्धार कार्य पूरा गर्न अझै तीनदेखि चार दिन लाग्न सक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?