रसुवा । चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको उद्धारका लागि प्रयास जारी रहेको छ ।
भौगोलिक विकटता, प्रतिकूल मौसम र सडक सम्पर्क विच्छेद हुँदा उद्धारका लागि आवश्यक जनशक्ति, सामग्री तथा उपकरण घटनास्थलसम्म पुर्याउन कठिनाइ भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ ।
हाल नेपाली सेना र भारतीय सेनाका २१ जना सुरुङभित्रै खटिएर माटो तथा भारी भग्नावशेष हटाउने काम गरिरहेका छन् । २५० मिटर लामो सुरुङमध्ये करिब १०० मिटर भाग सफा गरिएको छ ।
म्यानुअल रूपमा मात्रै उद्धार गर्न कठिन हुने भएपछि ठूलो एक्स्काभेटर घटनास्थलसम्म पुर्याउने तयारी गरिएको छ । त्यसका लागि स्याफ्रुदेखि पावरहाउस पोर्टलसम्म पहुँच सडक निर्माणको काम आजदेखि सुरु गरिएको छ ।
त्यस्तै, सुरुङमार्फत नै एक्स्काभेटर लैजाने विकल्पमा समेत काम भइरहेको छ । त्यसका लागि सुरुङभित्रको माटो र भग्नावशेष हटाउने काम जारी छ ।
ठूला हेलिकोप्टर अवतरण गर्न नसक्ने भएकाले साना हेलिकोप्टरमार्फत आवश्यक सामग्री तथा उपकरण घटनास्थलसम्म पुर्याउने प्रयास भइरहेको छ ।
कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बाबजुद उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तर अघि बढाइएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया