रियाद । यमनका हुथी विद्रोहीले आक्रमण गरेपछि दुई सातादेखि बन्द रहेको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा आइतबारदेखि उडान पुनः सुरु भएका छन् ।
‘फ्लाइट राडार’का अनुसार आइतबार बिहान रियाद विमानस्थलबाट एउटा विमान उडेर साउदीको जेद्दाहतर्फ गएको देखिएको छ ।
विमानस्थलले शनिबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत अक्टोबर २५ देखि टर्मिनल १ लाई आन्तरिक उडान र टर्मिनल २ लाई साउदी राष्ट्रिय ध्वजावाहकबाट सञ्चालन हुने अन्तरराष्ट्रिय उडानका लागि प्रयोग गरिने जानकारी दिएको थियो ।
यमनका हुथी विद्रोहीले पछिल्ला दिनमा साउदी अरबलाई लक्षित गरी लगातार आक्रमण गर्दै आएका छन् । यसै महिनाको एक आक्रमणमा १३ जनाको मृत्यु हुनुका साथै ३०० भन्दा बढी मानिस घाइते भएका थिए । यो घटना साउदी अरबमा एक दशकभन्दा बढी समययताकै घातक आक्रमणमध्ये एक भएको बताइएको छ ।
हुथी विद्रोहीका सैन्य प्रवक्ता याह्या सारीले रियाद विमानस्थल अझै सुरक्षित नरहेको चेतावनी दिएका छन् । उनले विमानस्थललाई सैन्य लक्ष्यका रूपमा लिइएको भन्दै वायुसेवा कम्पनी, कर्मचारी र यात्रुलाई विमानस्थल प्रयोग नगर्न आग्रह गरेका छन् ।
यसैबीच, हुथी विद्रोहीसँग लडिरहेको साउदी नेतृत्वको सैन्य गठबन्धनले आइतबार बिहान रियाद क्षेत्रमा दुईवटा ड्रोन खसालेको जनाएको छ ।
साउदी अरब र यमनको अन्तरराष्ट्रिय मान्यता प्राप्त सरकार पछिल्ला साताहरूमा हुथी विद्रोहीका आक्रमणको सामना गरिरहेका छन् । लामो समयदेखि जारी युद्धविराम भङ्ग भएपछि यमनमा द्वन्द्व फेरि चर्किएको हो । यसले यमनमा रहेको मानवीय सङ्कटलाई समेत थप गम्भीर बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया