मानव बेचबिखन रोक्न सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री बालेन

लोकपथ
21
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले मानव बेचबिखन तथा ओसारपसार रोक्न सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले मानव बेचबिखन मानव सभ्यताकै कलङ्क भएको बताएका हुन् ।

उनले मानव बेचबिखन विश्वभर सङ्गठित अपराधका रूपमा फैलिँदै गएको भन्दै यसको रोकथामका लागि सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए ।

यस वर्ष ‘प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ राष्ट्रिय दिवस मनाइँदैछ । प्रधानमन्त्री शाहले प्रविधिको विकाससँगै मानव बेचबिखनको तरिका, स्वरूप र गन्तव्यमा पनि परिवर्तन भइरहेको बताए ।

सरकारले मानव बेचबिखन रोक्न विभिन्न नीतिगत र संस्थागत सुधार गर्दै आएको उनले जानकारी दिए । यसका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारसँगै गैरसरकारी संस्था, विकास साझेदार र अन्य सरोकारवाला निकायसँग सहकार्य भइरहेको उनको भनाइ छ ।

प्रधानमन्त्री शाहका अनुसार मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ लाई ‘पालेर्मो प्रोटोकल’अनुकूल बनाउन संशोधन विधेयक संसदमा दर्ता गरिएको छ ।

उनले मानव बेचबिखनविरुद्ध सबैको संयुक्त प्रयास आवश्यक रहेको बताउँदै भने, ‘हाम्रो साझा पहल र संयुक्त प्रयासले मात्र मानव बेचबिखनमुक्त समाज बनाउन सम्भव हुनेछ ।

प्रधानमन्त्री शाहले मानव बेचबिखनविरुद्धको अभियानमा सहयोग र सहकार्य गर्दै आएका सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सरकारको अभियानमा साथ दिन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?