काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव हटाउन ग्यास उद्योगीहरू सक्रिय भएका छन् ।
नेपाल आयल निगमले उपत्यकाबाहिर रहेका ग्यास उद्योगमा सिलिन्डर भरेर काठमाडौं ल्याउन अनुमति दिएपछि उद्योगीहरूले त्यसैअनुसार काम अघि बढाएका छन् ।
नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीले मकवानपुरका ट्रक व्यवसायीसँग छलफल गरी खाली सिलिन्डर उद्योगसम्म ल्याउने र भरिएका सिलिन्डर काठमाडौं पठाउने व्यवस्था मिलाइरहेका छन् ।
संघका पूर्वअध्यक्ष गोकुल भण्डारीका अनुसार उपत्यकाबाहिरका उद्योगमा खाली सिलिन्डर कम भएकाले काठमाडौंमा खाली भएका सिलिन्डर ट्रकमार्फत बाहिरका उद्योगमा लैजानुपर्ने अवस्था छ । त्यही ट्रकमार्फत भरिएका सिलिन्डर काठमाडौं ल्याउने तयारी गरिएको छ ।
उनका अनुसार चितवनमा रहेको नेपाल ग्यास गण्डकी उद्योगमा काठमाडौंका सिलिन्डर भर्ने काम भइरहेको छ । केही दिनभित्र दैनिक ८ देखि १० हजार सिलिन्डर काठमाडौं पठाउने तयारी गरिएको छ ।
अन्य उद्योगहरूले पनि काठमाडौंका खाली सिलिन्डर बाहिरका उद्योगमा लगेर ग्यास भरेर राजधानी पठाउन थालेका छन् । विभिन्न ठाउँका ग्यास उद्योगबाट भरिएका सिलिन्डर त्रिभुवन राजपथ हुँदै काठमाडौं ल्याउने काम भइरहेको छ ।
संघका अध्यक्ष दिवान चन्दका अनुसार सामान्य अवस्थामा काठमाडौंमा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास आवश्यक पर्छ । अहिले अभावका कारण माग बढेर दैनिक एक लाख सिलिन्डरसम्म आवश्यक पर्ने अवस्था आएको छ ।
उनले केही दिनभित्रै ग्यासको समस्या समाधान हुने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया