रसुवागढी आयोजनाका ९३ जना अझै सम्पर्कविहीन, खोजीमा रक क्लाइम्बरदेखि हेलिकप्टरसम्म परिचालन

लोकपथ
14
Shares

काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनामा सम्पर्कविहीन भएका ९३ जनाको खोजी तथा उद्धार कार्य जारी छ ।

रसुवागढी हाइड्रोपावर कम्पनीका अनुसार सम्पर्कविहीन हुनेमा आयोजनाका ५१ जना कर्मचारी, एक जना सञ्चालक, दुई जना दैनिक ज्यालादारी कामदार र तीनवटा ठेकेदार कम्पनीका ३९ जना छन् ।

सम्पर्कविहीन भएकाहरूको खोजीका लागि नेपाली सेनाको उद्धार टोली आयोजनास्थल पुगेको छ । सेनाको टोली आवश्यक सामग्री र वरिष्ठ जियोलोजिस्टसहित हेलिकप्टरबाट आयोजनाको पावरहाउस क्षेत्रमा पुगेको कम्पनीले जनाएको छ ।

त्यस्तै, आयोजनाभन्दा बाहिर सम्पर्कविहीन भएकाहरूको खोजी गर्न दक्ष रक क्लाइम्बरको टोली परिचालन गरिएको छ । उनीहरूले जमिनबाट पनि खोजी गरिरहेका छन् ।

हिमालय समिट क्लबको टोलीले पनि हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुगेर खोजी गरेको थियो । तर, बिहीबार साँझसम्म सम्पर्कविहीनमध्ये कसैको अवस्थाबारे जानकारी पाउन नसकिएको कम्पनीले जनाएको छ ।

शुक्रबारदेखि खोजी कार्य पुनः सुरु गरिएको र थप विवरण आउन बाँकी रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?