परराष्ट्र मन्त्रालयले भन्यो– ‘सुरुङमा भएको उद्धारको यकिन विवरण संकलन भइरहेको छ’

लोकपथ
42
Shares

काठमाडौं । परराष्ट्र मन्त्रालयले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा रहेका सुरुङबाट उद्धार गरिएका शव तथा मानवीय क्षतिको यकिन विवरण संकलन भइरहेको जनाएको छ ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले खोज तथा उद्धार कार्य जारी रहेको र सुरुङ तथा आसपासका क्षेत्रबाट शव निकालिएको रिपोर्ट प्राप्त भए पनि ती शव सुरुङभित्रका हुन् वा बाहिरका भन्ने यकिन भइनसकेको बताए ।

उनका अनुसार सम्बन्धित निकायबाट आधिकारिक विवरण प्राप्त भएपछि सुरुङभित्रबाट उद्धार गरिएका श्रमिकको संख्या स्पष्ट हुनेछ ।

उद्धारमा प्रयोग भइरहेका मेसिनरी तथा उपकरणको अभाव र गुणस्तरबारे सोधिएको प्रश्नमा प्रवक्ता क्षेत्रीले आवश्यकताअनुसार थप उपकरणका लागि साझेदार निकायसँग सहयोग मागिएको जानकारी दिए । तर प्रयोग भइरहेका उपकरण बिग्रिएको वा काम नलाग्ने अवस्थामा रहेको भन्नेबारे मन्त्रालयलाई कुनै औपचारिक जानकारी नआएको उनले स्पष्ट पारे ।

प्रवक्ता क्षेत्रीले अहिले सरकारको मुख्य प्राथमिकता खोज तथा उद्धार रहेको बताए । बाढी तथा पहिरो प्रभावित कतिपय क्षेत्र बसोवासका लागि असुरक्षित हुन सक्ने भए पनि त्यसबारे प्राविधिक अध्ययनपछि मात्रै निर्णय हुने उनको भनाइ छ ।

खोज तथा उद्धारको काम सकिएपछि प्रभावित क्षेत्रको अवस्था मूल्यांकन गरी ‘उत्थानशील पुनर्निर्माण’को योजनाअनुसार विस्तृत अध्ययन अघि बढाइने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?