प्रधानमन्त्री बालेनलाई कुलमानले दिए विपद् व्यवस्थापनबारे यस्तो सुझाव

लोकपथ
0
Shares

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र साहसँग भेट गरी विपद् व्यवस्थापन, उद्धार तथा पूर्वाधार विकासका विषयमा सुझाव दिएका छन् ।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा घिसिङले भोटेकोशी विपत्तिबाट सिर्जित समस्या समाधान तथा दीर्घकालीन पूर्वाधार सुरक्षाका विषयमा लिखित र मौखिक सुझाव दिएका हुन् ।

घिसिङले संकटको अवस्थामा उद्धार, राहत र पुनर्स्थापनाका कामलाई एकीकृत रूपमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । उनले बाढी तथा पहिरोका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारका लागि आवश्यक प्रविधि र उपकरण तत्काल परिचालन गर्नुपर्नेमा जोड दिए ।

भौगोलिक रूपमा कठिन स्थानमा उपकरण पुर्‍याउन समस्या भए हेलिकोप्टरमार्फत हेभी इक्युपमेन्ट ढुवानी गरेर भए पनि उद्धार तथा पुनःस्थापनाको कामलाई तीव्रता दिनुपर्ने उनको सुझाव थियो ।

यस्तै, स्याफ्रुबेँसीलगायत अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन र रणनीतिक स्थानमा बेलिब्रिज निर्माण गर्न घिसिङले सुझाव दिए ।

ऊर्जा क्षेत्रमा पुगेको क्षतिप्रति चिन्ता व्यक्त गर्दै उनले क्षतिग्रस्त जलविद्युत आयोजनालाई शीघ्र सञ्चालनमा ल्याउन सरकारले विशेष प्याकेज ल्याउनुपर्ने बताए । उनका अनुसार विपद्का कारण करिब २३५ मेगावाट क्षमताका जलविद्युत आयोजना प्रभावित भएका छन् ।

निजी क्षेत्रका जलविद्युत प्रवर्द्धकलाई प्रोत्साहन गर्न तथा बीमा भुक्तानी प्रक्रिया सहज बनाउन सरकारले नीतिगत सहजीकरण गर्नुपर्नेमा पनि उनले जोड दिए ।

भेटमा दीर्घकालीन पूर्वाधार सुरक्षाका लागि जलविद्युत आयोजनाको डिजाइन पुनरावलोकन गर्नुपर्ने र नदी बेसिन व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने विषयमा समेत छलफल भएको थियो । घिसिङले जोखिम विश्लेषण गरेर मात्रै नदी किनारमा सडक तथा अन्य संरचना निर्माण गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री साहले घिसिङले प्रस्तुत गरेका सुझावलाई सकारात्मक रूपमा लिँदै विपद् व्यवस्थापन तथा पूर्वाधार निर्माणमा विज्ञहरूको सल्लाहअनुसार प्रभावकारी कदम चाल्ने आश्वासन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?