काठमाडौं । बाढी तथा विपद्बाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन चीन सरकारले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको दोस्रो खेप मंगलबार साँझ काठमाडौं आइपुगेको छ ।
चिनियाँ जनमुक्ति सेना (पीएलए) वायुसेनाको वाई–२० ठूलो क्षमताको सैन्य परिवहन विमानमार्फत साँझ करिब ५ः३० बजे राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।
सोही विमानबाट नेपालका लागि चिनियाँ सहयोगी विशेषज्ञको तेस्रो टोलीअन्तर्गत पाँच जना डीएनए पहिचान विशेषज्ञसमेत नेपाल आएका छन्। उनीहरूले विपद्का कारण बेपत्ता तथा मृतकको पहिचानसम्बन्धी कार्यमा नेपाली पक्षलाई सहयोग गर्ने जनाइएको छ ।
राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको उपस्थिति थियो। सो अवसरमा चिनियाँ विशेषज्ञ टोलीलाई स्वागतसमेत गरिएको थियो ।
नेपालको आवश्यकता र विपद् प्रभावित क्षेत्रमा तत्काल आवश्यक सामग्रीलाई प्राथमिकतामा राखेर चीनले राहत सामग्री उपलब्ध गराएको जनाएको छ। दोस्रो खेपमा ड्रोन, डीएनए परीक्षणका उपकरण तथा रिएजेन्ट, पानी शुद्धीकरण उपकरण र प्रकाश व्यवस्थापनका सामग्रीलगायत अत्यावश्यक सामग्री रहेका छन् ।
नेपाल आइपुगेका डीएनए पहिचान विशेषज्ञहरू आवश्यक समन्वय गरी तत्कालै विपद् प्रभावित क्षेत्रतर्फ जाने र खोज तथा पहिचान कार्यमा सहयोग गर्ने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया