नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर

लोकपथ
0
Shares

काठमाडौं । १८औँ नाडा अटो शो २०२६ मा सहभागी बैंकहरूले अटो लोनमा विभिन्न आकर्षक योजना ल्याएका छन् ।

ग्राहकलाई सहज र तुलनात्मक रूपमा सस्तो ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने उद्देश्यले बैंकहरूले ब्याजदर, सेवा शुल्क, कर्जा अवधि र ईभी कर्जामा विशेष सुविधा दिएका छन् ।

नाडा अटो शोमा सरकारी तथा निजी क्षेत्रका गरी १३ वटा वाणिज्य बैंक सहभागी छन् । यी बैंकमध्ये अटो लोनको ब्याजदर ४.६६ प्रतिशतदेखि ५.९९ प्रतिशतसम्म रहेको छ ।

बैंकअनुसार कर्जाको अवधि, ब्याजदरको प्रकृति र अन्य शुल्क भने फरक–फरक छन् ।

अटो लोनमा कृषि विकास बैंकले सबैभन्दा कम ४.६६ प्रतिशत ब्याजदरमा कर्जा दिने जनाएको छ । बैंकले ७ वर्षसम्मको अवधिका लागि कर्जा उपलब्ध गराउनेछ । साथै, सेवा शुल्क र ब्याजदर प्रिमियममा ३३.३३ प्रतिशत छुट दिने योजना ल्याएको छ। ईभी सवारी खरिद गर्ने ग्राहकका लागि कृषि विकास बैंकले सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने जनाएको छ ।

त्यस्तै, नेपाल बैंकले ४.९४ प्रतिशत ब्याजदरमा अटो लोन दिने भएको छ। अटो शो अवधिभर यही ब्याजदरमा कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले ५.०२ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएको छ ।

फ्लोटिङ रेटमा उपलब्ध हुने यो कर्जाको अवधि ७ वर्षसम्म रहनेछ। बैंकले अधिकतम १ करोड रुपैयाँसम्म अटो लोन उपलब्ध गराउने जनाएको छ । सेवा शुल्क सामान्य अवस्थामा ०.७५ प्रतिशत रहेकामा अटो शो अवधिमा ०.५० प्रतिशत कायम गरिएको छ ।

नबिल बैंकले ५.१७ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएको छ । बैंकले २० प्रतिशत डाउन पेमेन्टमै कर्जा सुविधा उपलब्ध गराउने योजना ल्याएको छ। योजनाअनुसार ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट र २० प्रतिशत क्रेडिट कार्डबाट भुक्तानी गर्नेछन् भने बाँकी ६० प्रतिशत रकम बैंकले कर्जाका रूपमा उपलब्ध गराउनेछ ।

एनआईसी एसिया बैंकले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा ७ वर्षसम्मका लागि अटो लोन दिने भएको छ। अधिकांश बैंकले फ्लोटिङ ब्याजदरमा कर्जा दिइरहेका बेला एनआईसी एसियाले स्थिर ब्याजदरको विकल्प पनि ल्याएको हो । बैंकले फ्लोटिङ रेटमा समेत अटो लोन उपलब्ध गराउँदै आएको जनाएको छ। ईभी सवारीका लागि भने ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउन सकिने बैंकको भनाइ छ ।

ग्लोबल आईएमई बैंकले ईभी सवारीका लागि ५.१७ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएको छ । बैंकले स्थिर ब्याजदरमा पनि कर्जा उपलब्ध गराउनेछ । ७ वर्ष अवधिको कर्जामा पहिलो ३ वर्षका लागि ५.१७ प्रतिशत ब्याजदर कायम हुनेछ। त्यसपछिको ४ वर्षमा सम्बन्धित अवधिको बेस रेटमा २ प्रतिशत जोडेर ब्याजदर निर्धारण गरिने बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकले ५.४५ प्रतिशत ब्याजदरमा अटो लोन दिने भएको छ । नाडा अटो शोलाई लक्षित गरी ल्याइएको यो योजनामा कर्जाको अवधि १० वर्षसम्म राखिएको छ । अन्य अधिकांश बैंकले ७ वर्षसम्मको कर्जा अवधि राखेका बेला माछापुच्छ्रेले लामो अवधि रोजेको हो। कर्जाको सेवा शुल्क ०.५० प्रतिशत रहेकामा अटो शो अवधिभर ०.२५ प्रतिशत छुट दिइएको बैंकले जनाएको छ ।

त्यस्तै, प्रभु बैंकले ५.४४ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएको छ । बैंकका अनुसार आधारदरमा अधिकतम ०.५० प्रतिशत प्रिमियम थप हुनेछ ।

लक्ष्मी सनराइज बैंकले ५.४९ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने भएको छ । ७ वर्ष अवधिको यो कर्जा फ्लोटिङ रेटमा हुनेछ। बैंकले सेवा शुल्क ०।५० प्रतिशत लिने जनाएको छ ।

त्यस्तै कुमारी बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले क्रमशः ५.२१ प्रतिशत, ५.५४ प्रतिशत, ५.९६ प्रतिशत र ५.१३ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएका छन् । यी बैंकहरूले ७ वर्षसम्मको अवधिका लागि फ्लोटिङ ब्याजदरमा कर्जा उपलब्ध गराउनेछन् । सेवा शुल्क ०.५० प्रतिशत रहने जनाइएको छ ।

नाडा अटो शोमा बैंकहरूले ब्याजदरमा मात्र नभई कर्जा अवधि, सेवा शुल्क, डाउन पेमेन्ट र ईभी सवारीमा उपलब्ध कर्जा सीमामा समेत विभिन्न सुविधा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?