काठमाडौं । नेपालमा नै उत्पादन भएको पहिलो इलेक्ट्रिक स्कुटर ‘यात्री पी–टू’ नेपाली बजारमा सार्वजनिक भएको छ ।
सोमबार साँझ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमेतको उपस्थितिमा नेपालमै उत्पादित ‘यात्री पी–२’ सार्वजनिक गरिएको हो ।
सिप्रदी ट्रेडिङ प्रालि र यात्री मोटरसाइकल कम्पनीको संयुक्त रुपमा उत्पादन भएको यात्री पी–२ नेपालमा उत्पादित स्कुटर भन्दा निकै ठूलो साइजमा रहेको छ ।
नेपालमा हाल रहेका इलेक्ट्रिक स्कुटरमा २.५ किलोवाटदेखि अधिकतम ६.५ किलोवाटसम्मको मोटर रहेकोमा यात्री पी–२ मा १० किलोवाटको मोटर रहेको कम्पनीले जनाएको छ ।
मिनी कारमा प्रयोग हुने जत्तिकै क्षमताको मोटर दिइएको यात्री पी–२ मा ठूलो क्षमताको ब्याट्री प्रयोग गरिएको छ ।
हाल बजारमा रहेका अन्य स्कुटरहरुमा २ देखि ४ किलोवाट आवर क्षमताको ब्याट्री रहेकोमा यात्री पी–२ मा ५.२ किलोवाट आवरको ब्याट्री दिइएको छ ।
कम्पनीका अनुसार यसमा ३ वटा ब्याट्री अप्सनहरु रहेका छन् । जसमा ५.२ किलोवाट आवर, ३.७ किलोवाट आवर र ३ किलोवाट आवरको ब्याट्री क्षमता रहेको छ ।

स्कुटरमा रहेको ५.२ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा १५७ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ ।
यसैगरी ३.७ किलोवाट आवर क्षमताको ब्याट्रीले ११२ किलोमिटर र ३ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ९० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।
यात्रीले बजारमा ल्याएको पी–२ स्कुटरमा सेग्मेन्टमै पहिलोपटक डीसी फास्ट चार्जर दिइएको छ । ३ दशमलव ३ किलोवाटको फास्ट चार्जरबाट केवल ४१ मिनेटमा नै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
अन्य स्कुटरहरु होम चार्जरबाट चार्ज गर्दा ४ देखि ७ घण्टामा फूलचार्ज हुन सक्नेमा यो भने २ घण्टा ५० मिनेटमा नै ८० प्रतिशतसम्म चार्ज हुन सक्छ ।

कम्पनीका अनुसार यात्री पी–२ मा १३९० एमएम लामो ह्वीलबेस दिइएको छ । जसको मद्दतले स्कुटर सडकमा तीव्र गतिमा गुड्दा वा खाल्डाखुल्डीमा सन्तुलन र स्थिरता कायम हुन्छ । लेगरुम फराकिलो हुने भएकाले चलाउँदा आरामदायी महसुस हुने कम्पनीले जनाएको छ ।
रियल टाइम इनर्जी मिटर, स्मार्ट डिस्प्ले प्रयोग गरिएको यात्री पी–२ मा ब्याट्री म्यानेजमेन्ट सिस्टम भारतीय अटोमोटिभ रिसर्च एजेन्सी –एआएआई) बाट प्रमाणित रहेको छ ।
यसको लुक्सको कुरा गर्दा झट्ट हेर्दा मोटरसाइकल जस्तो देखिन्छ ।
नेपालमै बनेको यात्री पीटू सबैको चासोको विषय बनेको छ । भोलिबाट हुने नाडा अटो शोमा नेपाली उत्पादन यात्री पी–२ को मूल्य सार्वजनिकसँगै प्रदर्शनीमा राखिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया