काठमाडौं । भोलि मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने ‘नाडा अटो शो–२०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)को आयोजनामा हुने १८औँ संस्करणको अटो शोका लागि भृकुटीमण्डपमा स्टल, मुख्यद्वार तथा अन्य आवश्यक संरचना निर्माणको काम तीव्र रूपमा भइरहेको छ ।
अटो शोको पूर्वसन्ध्यामा सोमबार विभिन्न कम्पनीका स्टललाई आकर्षक तथा प्रविधिमैत्री बनाउन विद्युत्, प्रकाश, डिजिटल डिस्प्ले, ब्रान्डिङलगायतका काम भइरहेका छन् । आयोजकका अनुसार अधिकांश तयारी अन्तिम चरणमा पुगेको छ ।
अटो शोमा सवारीसाधन क्षेत्रमा भित्रिएका नयाँ प्रविधि तथा उत्पादनबारे जानकारी दिइनेछ । साथै विभिन्न कम्पनीले नयाँ दुईपांग्रे तथा चारपांग्रे सवारीसाधनसमेत सार्वजनिक गर्ने तयारी गरेका छन् ।
भदौ ९ गतेदेखि १४ गतेसम्म अर्थात् अगस्ट २५ देखि ३० सम्म सञ्चालन हुने शो करिब ३ लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुनेछ ।
आयोजकका अनुसार अटो शोमा २०० भन्दा बढी स्टल रहनेछन् । तीमध्ये ५३ वटा विभिन्न सवारी ब्रान्डका स्टल हुनेछन् । यस्तै, अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज तथा ग्यारेज उपकरणका लागि करिब ७० वटा छुट्टै स्टल रहनेछन् ।
यसैगरी, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको समेत अटो शोमा सहभागिता रहने आयोजकले जनाएको छ ।
नयाँ सवारीसाधन, प्रविधि र अटोमोबाइल क्षेत्रका उत्पादनलाई एउटै स्थानमा अवलोकन गर्न सकिने भएकाले यस वर्षको नाडा अटो शो विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया