म्याकका लागि च्याटजीपीटीमा ‘एप्पल मेसेजेज’ प्लगइन, सन्देश खोज्न र जवाफ तयार गर्न सकिने

लोकपथ
0
Shares

काठमाडौं । ओपनएआईले म्याकका लागि च्याटजीपीटी डेस्कटप एपमा ‘एप्पल मेसेजेज’ प्लगइन सार्वजनिक गरेको छ । नयाँ प्लगइनमार्फत प्रयोगकर्ताले आइमेसेज, एसएमएस र आरसीएस कुराकानी खोज्न, त्यसको सारांश बनाउन तथा जवाफ तयार गर्न सक्नेछन् ।

प्रयोगकर्ताले अनुमति दिएपछि च्याटजीपीटीमार्फत सन्देश पठाउनसमेत सकिने ओपनएआईले जनाएको छ । यद्यपि, यो सुविधा हाल च्याटजीपीटी वर्क र कोडेक्स प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । त्यस्तै, एप्पल सिलिकन चिप भएका म्याकमा मात्र यो सुविधा सञ्चालन हुनेछ भने इन्टेल म्याकमा उपलब्ध हुने छैन ।

प्लगइन प्रयोग गर्न सेटअपका क्रममा प्रयोगकर्ताले म्याकमा फुल डिस्क एक्सेस, कन्ट्याक्ट्स र अटोमेसनसम्बन्धी अनुमति दिनुपर्ने हुन्छ । ओपनएआईका अनुसार प्लगइनले प्रयोगकर्ताका सन्देश आफैं संकलन गरेर राख्ने वा छुट्टै फाइल बनाउने गर्दैन । प्रयोगकर्ताले कुनै विशेष कुराकानी खोज्न वा पत्ता लगाउन अनुरोध गरेपछि मात्र यसले पुराना सन्देश पढ्ने बताइएको छ ।

तर, फुल डिस्क एक्सेसका कारण गोपनीयता तथा सुरक्षासम्बन्धी प्रश्नसमेत उठेका छन् । ब्लुमबर्गलगायतका स्रोतहरूले यस्तो अनुमति दिँदा च्याटजीपीटीले म्याकमा रहेका अन्य धेरै फाइलमा समेत पहुँच पाउन सक्ने भन्दै सम्भावित जोखिमबारे चिन्ता व्यक्त गरेका छन् ।

ओपनएआईले भने उक्त प्लगइन स्थानीय रूपमा अर्थात् ‘लोकल होस्ट’मा सञ्चालन हुने र प्रयोगकर्ताको नियन्त्रणमै रहने दाबी गरेको छ । सन्देश पठाउनुअघि प्रयोगकर्ताको स्वीकृति अनिवार्य हुने पनि कम्पनीले स्पष्ट पारेको छ ।

मिल्दो म्याक र च्याटजीपीटी वर्क वा कोडेक्स प्रयोग गरिरहेका प्रयोगकर्ताले एपको ‘प्लगइन्स’ ट्याबबाट यो सुविधा सक्रिय गर्न सक्नेछन् । यद्यपि, प्लगइन सक्रिय गर्दा दिइने विभिन्न अनुमति र सन्देश पठाउँदा अपनाउनुपर्ने गोपनीयता तथा सुरक्षासम्बन्धी सावधानीमा ध्यान दिनुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?