काठमाडौं । टाटा मोटर्सको नयाँ विद्युतीय एसयूभी सिएरा ईभी नेपाल आइपुगेको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आगामी नाडा अटो शोलाई लक्षित गर्दै यो गाडी नेपाल ल्याएको हो ।
सिएरा ईभीलाई नाडा अटो शोको मुख्य आकर्षणमध्ये एकका रूपमा प्रस्तुत गर्ने तयारी गरिएको छ । आकर्षक डिजाइन, लामो रेन्ज र आधुनिक फिचरका कारण यो गाडीले नेपाली बजारमा चर्चा पाउने अपेक्षा गरिएको छ ।
भारतमा सिएरा ईभी गत जुन ३० मा सार्वजनिक भएको थियो। त्यही दिनदेखि यसको बुकिङ सुरु भएको थियो भने जुलाई १५ देखि ग्राहकलाई डेलिभरी दिन थालिएको थियो। भारतमा यसको सुरुआती मूल्य १८ लाख ७९ हजार भारतीय रुपैयाँ तोकिएको छ । नेपालमा भने यसको मूल्य र बिक्री सुरु हुने मिति सिप्रदीले सार्वजनिक गरेको छैन ।
सिएरा ईभी भारतमा विभिन्न भेरियन्टमा उपलब्ध छ। यसमा ६३ किलोवाट–आवर र ७५ किलोवाट–आवरका दुई ब्याट्री विकल्प छन् । ७५ किलोवाट–आवर ब्याट्री भएको मोडलले एकपटक चार्ज गर्दा ६६५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । फास्ट चार्जिङबाट १५ मिनेट चार्ज गर्दा २६३ किलोमिटरसम्म चलाउन सकिने बताइएको छ ।
गाडीको डिजाइनमा पुरानो सिएराको बक्सी शैलीलाई आधुनिक विद्युतीय स्वरूप दिइएको छ । अगाडि र पछाडि कनेक्टिङ एलईडी लाइट, १९ इन्चको अलोय ह्विल र फराकिलो बडीले गाडीलाई आकर्षक बनाएको छ ।
भित्री भागमा लेदरेट सिट, भेन्टिलेटेड सिट, डुअल जोन क्लाइमेट कन्ट्रोल, सनरुफ, वायरलेस मोबाइल चार्जर र कनेक्टेड कार फिचर छन् । मनोरञ्जनका लागि १२ स्पिकर भएको जेबीएल साउन्ड सिस्टम र डल्बी एटमस पनि दिइएको छ ।
सुरक्षाका लागि ६ वटा एयरब्याग, ५४० डिग्री भ्यु क्यामेरा, अटोमेटिक पार्किङ असिस्ट र लेभल–२ एडीएएस जस्ता सुविधा छन्। गाडीमा विभिन्न ड्राइभिङ मोड पनि उपलब्ध छन् ।
सिएरा ईभीको फोर ह्विल ड्राइभ संस्करणमा दुईवटा मोटर छन् । यसले ५०४ न्युटन–मिटर टर्क उत्पादन गर्छ भने शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ५.८ सेकेन्डमा पुग्ने कम्पनीको दाबी छ ।
गाडीमा ६२२ लिटरको पछाडिको बुट स्पेस र ५० लिटरभन्दा बढीको अगाडिको स्टोरेज पनि छ । यसले दैनिक प्रयोगसँगै लामो दूरीको यात्रालाई समेत लक्षित गरेको देखिन्छ ।
नेपालमा सिएरा ईभीले हुन्डाई क्रेटा इलेक्ट्रिक, एमजी जेडएस ईभीलगायतका विद्युतीय एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ । नाडा अटो शोमा यसको मूल्य र नेपालमा उपलब्ध हुने भेरियन्टबारे थप जानकारी सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया