काठमाडौं । ५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहित ‘तपाईंको बजार’ले राइड सेयरिङका लागि ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गरेको छ ।
तपाईंको बजार र भेट्रा मोटर्स प्रालिको सहकार्यमा सार्वजनिक गरिएको स्कुटरको मूल्य ३ लाख ८० हजार रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार राइड सेयरिङमा आबद्ध व्यक्तिलाई सवारीसाधन भाडामा उपलब्ध गराउनेभन्दा आफ्नै सवारीसाधनको मालिक बनाउने उद्देश्यले योजना ल्याइएको हो ।
योजनाअन्तर्गत राइडरले शून्य डाउनपेमेन्टमा इलेक्ट्रिक स्कुटर लिन सक्नेछन् । दैनिक आम्दानीबाट किस्ता तिर्दै स्कुटरको स्वामित्व हासिल गर्न सकिने कम्पनीको दाबी छ ।
हाल बजारमा राइड सेयरिङका लागि विभिन्न कम्पनीले दैनिक ८ सयदेखि १ हजार रुपैयाँसम्ममा बाइक तथा स्कुटर भाडामा उपलब्ध गराउँदै आएका छन् । सोही हाराहारीको रकममा राइडरलाई आफ्नै स्कुटरको मालिक बनाउने उद्देश्यले योजना ल्याइएको तपाईंको बजारले जनाएको छ ।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए । उनले विद्युतीय सवारीसाधनको प्रयोग विस्तारसँगै स्वदेशमै रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्न यस्ता पहलले योगदान पुर्याउने बताए ।
तपाईंको बजारकी प्रमुख कार्यकारी अधिकृत माया लामाले ५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहितको योजना दुई वर्षअघि नै सुरु गरिएको बताइन् । विभिन्न बाधा र अवरोधका कारण योजना अघि बढाउन नसकिए पनि अहिले बेस्ट फाइनान्स र याङ्गोको सहकार्यमा कार्यक्रम सुरु गर्न सफल भएको उनले बताइन् ।
लामाका अनुसार राइड सेयरिङ क्षेत्रमा विद्युतीय स्कुटरको प्रयोग बढाउँदै छुट्टै विद्युतीय राइडिङ इकोसिस्टम विकास गर्ने कम्पनीको योजना छ । नेपालभर अधिकृत डिलर नियुक्तिका लागि आवेदनसमेत खुला गरिएको उनले जानकारी दिइन् ।
कम्पनीका अनुसार ‘भेट्रा एरोन’ले एकपटक पूर्ण चार्ज गर्दा २५० किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरिएको छ । नेपाली सडक तथा भूगोललाई लक्षित गरी तयार गरिएको स्कुटरमा १६५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ५ हजार वाटको मोटर र १२० एम्पियर क्षमताको एलएफपी ब्याट्री रहेको कम्पनीले जनाएको छ ।
विशेषगरी राइड सेयरिङ तथा राइड–हेलिङ व्यवसायका लागि स्कुटर उपयुक्त हुने कम्पनीको भनाइ छ । भेट्रा मोटर्सका निर्देशक मनिष श्रेष्ठले नेपाली सडकका उकाली–ओरालीलाई समेत ध्यानमा राखेर स्कुटर तयार गरिएको बताए ।
राइडरलाई सहज रूपमा विद्युतीय स्कुटर उपलब्ध गराउने उद्देश्यले पानीपोखरीस्थित तपाईंको बजारको कार्यालयमार्फत शून्य प्रतिशत डाउनपेमेन्टमा स्कुटर उपलब्ध गराउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यसका लागि तपाईंको बजार र बेस्ट फाइनान्सबीच सहकार्य भएको छ ।
तपाईंको बजारका प्रबन्ध निर्देशक सुशिल सङ्ग्रौलाका अनुसार कम्पनीले हाल नेपालभर इलेक्ट्रिक भ्यान तथा इलेक्ट्रिक बसमा वित्तीय सुविधा र बिक्री–वितरण गर्दै आएको छ । राइड सेयरिङका लागि इलेक्ट्रिक स्कुटर उपलब्ध गराउने योजना त्यसैको अर्को आयाम भएको उनले बताए ।
कम्पनीका अनुसार योजनामार्फत विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्नुका साथै राइड सेयरिङ क्षेत्रमा रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ ।
‘भेट्रा एरोन’ सम्बन्धी सुविधा तपाईंको बजारका पानीपोखरी, बुटवल र बिर्तामोडस्थित शोरुमबाट लिन सकिने कम्पनीले जनाएको छ । योजनामा सहभागी हुन राइडरले राष्ट्रिय परिचयपत्र, प्यान कार्ड, सवारीचालक अनुमतिपत्र (लाइसेन्स) र फोटो बुझाउनुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया