काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै सरकारको राजस्व संकलन बढेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन मसान्तसम्म सरकारले ९३ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ ।
यो रकम गत आर्थिक वर्षको साउनको तुलनामा करिब १० प्रतिशत बढी हो । गत वर्षको साउनभन्दा यसपटक सरकारको आम्दानी ८ अर्ब २४ करोड रुपैयाँले बढेको छ ।
साउनमा सरकारले करबाट ८५ अर्ब १९ करोड ६ लाख रुपैयाँ र गैरकर राजस्वबाट ७ अर्ब ३ करोड ४७ लाख रुपैयाँ संकलन गरेको छ । यस्तै, २४ करोड ३ लाख रुपैयाँ वैदेशिक अनुदान प्राप्त भएको छ ।
चालु आर्थिक वर्षमा सरकारले राजस्व तथा अन्य आम्दानीबाट १६ खर्ब ४२ अर्ब ६ करोड ३७ लाख रुपैयाँ जुटाउने लक्ष्य राखेको छ । साउनको आम्दानी वार्षिक लक्ष्यको करिब ५.७ प्रतिशत हो ।
राजस्व संकलन बढे पनि सरकारी खर्च भने सुस्त देखिएको छ । साउन मसान्तसम्म सरकारले ४१ अर्ब ८८ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ । यो कुल वार्षिक बजेटको १.९७ प्रतिशत मात्रै हो ।
चालु आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँको बजेट ल्याएको छ । साउनमा चालुतर्फ २१ अर्ब ४० करोड ३८ लाख रुपैयाँ खर्च भएको छ ।
सरकारले चालु खर्चका लागि १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँ छुट्याएको छ । तर, विकास निर्माणसँग जोडिएको पुँजीगत खर्च भने निकै कम भएको छ ।
पुँजीगत खर्चका लागि ४ खर्ब ३१ अर्ब रुपैयाँ बजेट छुट्याइएकोमा साउनसम्म त्यसको ०.३१ प्रतिशत मात्रै खर्च भएको छ ।
त्यस्तै, वित्तीय व्यवस्थातर्फ साउन मसान्तसम्म १९ अर्ब १५ करोड ३५ लाख रुपैयाँ खर्च भएको छ । यो यस शीर्षकमा छुट्याइएको वार्षिक बजेटको ४.५३ प्रतिशत हो ।
यसरी चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारको राजस्व संकलनमा सुधार देखिए पनि विकास निर्माणका लागि गरिने पुँजीगत खर्च भने निकै न्यून रहेको सरकारी तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया