काठमाडौं । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्ने ७ दशमलव ९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट जडान गरेको छ ।
महानगर प्रमुख चिरिबाबु महर्जनका अनुसार बालकुमारीदेखि बल्खु हुँदै सानेपासम्मको चक्रपथ क्षेत्रमा स्मार्ट स्ट्रिट लाइट प्रणाली जडान गरिएको हो । उनका अनुसार नेपालमै पहिलोपटक ललितपुर महानगरपालिकाले स्मार्ट स्ट्रिट लाइट प्रणाली जडान गरेको हो ।
स्मार्ट स्ट्रिट लाइट जडानको काम सम्पन्न भइसकेकाले बुधबार बेलुका बालकुमारी पुलबाट बत्ती बालेर यसको औपचारिक शुभारम्भ गर्ने तयारी गरिएको महर्जनले जानकारी दिए ।
महानगरपालिकाले चक्रपथबाहेक महानगरभित्रका मुख्य सडकहरूमा समेत स्मार्ट स्ट्रिट लाइट जडान गरिसकेको जनाएको छ ।
स्मार्ट स्ट्रिट लाइट सञ्चालनमा आएपछि ललितपुर महानगरपालिका रातको समयमा थप उज्यालो र सुरक्षित हुने महर्जनको भनाइ छ । उनका अनुसार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दक्षिणतर्फबाट अवतरण गर्ने यात्रुले विमानबाट हेर्दा ललितपुर उज्यालो शहरका रूपमा देखिनेछ ।
महानगरपालिकाले स्मार्ट स्ट्रिट लाइटलाई शहरी पूर्वाधार र रात्रिकालीन सुरक्षा सुधार गर्ने योजनाका रूपमा अघि बढाएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया