काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । अविरल वर्षापछि आज बिहान खसेको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरेको हो ।
पहिरोमा परी १८ वर्षीया शान्ती पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको थियो । उद्धारका क्रममा आज बिहान ७१ वर्षीया मनरखी पुन मगरको शव पनि भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
घटनामा दुई जना गम्भीर घाइते भएका छन् । २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारका लागि पठाउने तयारी भइरहेको छ ।
पहिरोमा अझै नौ जना बेपत्ता छन् । बेपत्ता हुनेमा जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर रहेका छन् ।
बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालन भएका छन् । प्रमुख जिल्ला अधिकारीसहितको टोली पनि घटनास्थलमा पुगेको छ ।
लगातार वर्षा भइरहेकाले थप पहिरो खस्ने जोखिम कायमै रहेको प्रहरीले जनाएको छ । जोखिमका बीच पनि बेपत्ताको खोजी तथा उद्धार कार्य जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया