सरकारलाई खुश्बुको प्रश्न : ‘तथ्याङ्कमा मल छ, किसानको खेतमा किन छैन ?’

लोकपथ
7
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले श्रमिक र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद ओलीले श्रमिकको श्रम शोषण र कृषि मलको अभावबारे सरकारसँग जवाफ मागेकी हुन् ।

उनले आर्थिक वृद्धिको तथ्यांक प्रस्तुत गर्दा त्यसको आधारमा रहेका श्रमिकको अवस्थालाई बिर्सन नहुने बताइन् । विशेषगरी कार्पेट, धागो र गार्मेन्ट उद्योगमा कार्यरत महिला श्रमिकले दैनिक १२ घण्टासम्म काम गर्दा पनि मासिक १८ हजार रुपैयाँ मात्र पारिश्रमिक पाउने गरेको उनले सदनलाई जानकारी गराइन् ।

कार्यस्थलमा श्रमिकले न्यूनतम मानवीय सुविधासमेत नपाएको भन्दै उनले श्रम निरीक्षणलाई औपचारिकतामा सीमित नराखी नियमित, स्वतन्त्र र परिणाममुखी बनाउन सरकारसँग माग गरिन् । अनौपचारिक क्षेत्रका श्रमिकलाई समेत सामाजिक सुरक्षाको दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो ।

ओलीले कार्यस्थलमा हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार र रोजगारी गुम्ने डरका कारण श्रमिकले आफ्ना समस्या राख्न नसकेको बताइन् ।

त्यस्तै, उनले देशभर देखिएको कृषि मलको अभावप्रति कृषि मन्त्रालयको आलोचना गरिन् । कृषिमन्त्रीले मलको अभाव नहुने आश्वासन दिए पनि व्यवहारमा किसानले मल नपाएर समस्या भोगिरहेको उनको भनाइ थियो ।

सरकारी तथ्यांकमा ५ लाख ६१ हजार मेट्रिक टनभन्दा बढी मल आपूर्ति भएको देखिए पनि किसानको खेतसम्म मल पुग्न नसकेको भन्दै उनले वितरण प्रणालीमा गम्भीर कमजोरी वा भ्रष्टाचार भएको हुनसक्ने आशंका व्यक्त गरिन् ।

उनले कुन जिल्ला र पालिकामा कति मल पठाइएको हो भन्ने तथ्यांक सरकारले सार्वजनिक गर्नुपर्ने माग गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?