काठमाडौं । काठमाडौं उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउने लक्ष्यसहित दीर्घकालीन यातायात गुरुयोजना सार्वजनिक गरिएको छ ।
‘जीवन्त र सांस्कृतिक काठमाडौं उपत्यकाका लागि दिगो, सुरक्षित र समावेशी यातायात गुरुयोजना’ सार्वजनिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ्ग थापाले उपत्यकाको पूर्व–पश्चिम तथा उत्तर–दक्षिण यातायात सञ्जाललाई सुदृढ बनाउन नयाँ पूर्वाधार विकासमा विशेष ध्यान दिनुपर्ने बताए ।
उनले बढ्दो सहरीकरण र सवारी चापलाई व्यवस्थापन गर्न दीर्घकालीन सोचका साथ वैकल्पिक मार्ग र प्रमुख चोकको पुनःसंरचना आवश्यक रहेको उल्लेख गरे ।
पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले गुरुयोजनामा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी २२ वटा पूर्वाधार विकास कार्यक्रम तथा सार्वजनिक यातायात सुधारका १३ वटा कार्यक्रम समेटिएको जानकारी दिए । उनका अनुसार सन् २०५० सम्म काठमाडौं उपत्यकाको यातायात प्रणालीलाई थप व्यवस्थित, सुरक्षित र दिगो बनाउने लक्ष्य राखिएको छ।
गुरुयोजनाअन्तर्गत चक्रपथमा मास ट्रान्जिट प्रणाली सञ्चालन, रत्नपार्क–भक्तपुर उच्च क्षमतायुक्त सार्वजनिक यातायात सेवा, पूर्व–पश्चिम जोडमार्ग विस्तार तथा आवश्यक स्थानमा नयाँ मास ट्रान्जिट प्रणाली विकास गर्ने योजना समावेश गरिएको छ ।
यस्तै, विष्णुमती, धोबीखोला र ग्वार्कोमा नयाँ पुल निर्माण, ठमेल, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका दरबार क्षेत्रमा कार पार्किङ, साइक्लिङ लेन, ट्राफिक सुरक्षा, सडक चोक स्तरोन्नति, आपत्कालीन सडक सञ्जाल विकास तथा चक्रपथ बाहिर पार्किङ सुविधा विस्तारका कार्यक्रम पनि प्रस्ताव गरिएको छ ।
गुरुयोजनामा महाराजगञ्ज र चाबहिल–गौशाला भूमिगत मार्ग, चाबहिल–बागमती तथा त्रिपुरेश्वर–माइतीघरमा आकासे पुल, विष्णुमती नदी तटीय मार्ग, सातदोबाटो–गोदावरी जोड्ने कर्मनाशा पुल, चौडा चक्रपथ, थापाथली–त्रिपुरेश्वर पुल तथा बागमती करिडोर स्तरोन्नतिलाई समेत प्राथमिकतामा राखिएको छ ।
उपत्यकाका मुख्य जाम हुने क्षेत्रमा अन्डरपास, सुरुङमार्ग, आकासे सडक तथा ठूला बसको एकीकृत सञ्चालनमार्फत ट्राफिक व्यवस्थापन सुधार गर्ने लक्ष्य पनि गुरुयोजनाले लिएको छ ।
जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को प्राविधिक सहयोगमा तयार गरिएको गुरुयोजनाले एकीकृत, दक्ष, सुरक्षित र वातावरणमैत्री सहरी यातायात प्रणाली विकास गर्दै सबै नागरिकको पहुँचमा भरपर्दो सार्वजनिक यातायात सेवा विस्तार गर्ने दीर्घकालीन रणनीति अघि सारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया