लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ ? पहिले यी सडकको अवस्था हेर्नुहोस्

लोकपथ
0
Shares

काठमाडौं । लगातार परेको वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग र सडकहरू बाढी र पहिरोले अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार केही सडक पूर्ण रूपमा बन्द छन् भने केही सडकमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ ।

पूर्ण रूपमा बन्द भएका सडकहरूमा चितवनको इच्छाकामना क्षेत्रमा रहेको पृथ्वी राजमार्ग, सिन्धुपाल्चोकको चारकिलो, कोदारी र लिपिङ क्षेत्रमा रहेको अरनिको राजमार्ग, ललितपुर र मकवानपुर जोड्ने कान्ति लोकपथ, इलामको मेची राजमार्ग, पूर्वी रुकुमको मध्य पहाडी लोकमार्ग, बागलुङ र पाल्पाको कालीगण्डकी कोरिडोर, साथै कर्णाली प्रदेशका भेरी कोरिडोर, नाग्म–गमगढी सडक र नाग्म सडक खण्ड रहेका छन् ।

यस्तै, काभ्रेको बीपी राजमार्गमा बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालन रोकिएको छ ।

उता, काठमाडौंको सितापाइला–धार्के सडक, मनाङको चामे–बेँसिशहर सडक, मुस्ताङको बेनी–जोमसोम सडक र भोजपुरको मध्य पहाडी लोकमार्गका केही भागमा पहिरो हटाएर एकतर्फी सवारी सञ्चालन गरिएको छ ।

यसैबीच, रसुवाको त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी सडक र दोलखाको लामासाँघु–रामेछाप सडक पनि बाढीका कारण बन्द छन् । दोलखामा भने वैकल्पिक बाटो खुलाउने काम भइरहेको छ ।

नेपाल प्रहरीले लगातारको वर्षाका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले लामो दूरीको यात्रा गर्नुअघि नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आधिकारिक सूचना हेरेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?