काठमाडौं । आर्थिक वर्ष २०८२–०८३ चौथो त्रैमास (असार मसान्त) सम्ममा एभरेस्ट बैंकले समीक्षा अवधिमा ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असार मसान्तसम्म आइपुग्दा एभरेस्ट बैंकले वित्तीय सूचकहरुमा सन्तोषजनक सुधार गर्दै अघिल्लो आर्थिक वर्षको सोही अवधिको ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँको तुलनामा ४.७५ प्रतिशतले बढी हो ।
निक्षेप, कर्जा, सञ्चालन आम्दानी र वितरणयोग्य मुनाफामा वृद्धि हासिल गरेको बैंकले खराब कर्जा भने बैंकिङ क्षेत्रकै न्यून स्तरमा कायम राख्न सफल भएको छ ।
बैंकको मुख्य आम्दानी स्रोत खुद ब्याज आम्दानी पनि सामान्य वृद्धि भएको छ । अघिल्लो वर्ष ९ अर्ब १० करोड २३ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर ९ अर्ब १९ करोड ४ लाख रुपैयाँ पुगेको छ । सेवा शुल्क तथा कमिसनबाट बैंकले २ अर्ब २० करोड ७८ लाख रुपैयाँ खुद आम्दानी गरेको छ ।
गैर–ब्याज आम्दानी र इम्पेयरमेन्ट चार्जमा आएको सुधारका कारण बैंकको कुल सञ्चालन आम्दानी ११ अर्ब ९६ करोड ४६ लाख रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफा पनि १.८८ प्रतिशतले बढेर ७ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकले ३ खर्ब १६ अर्ब ८ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने २ खर्ब ३५ अर्ब ५६ करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप र कर्जा दुवैमा उल्लेख्य वृद्धि भएको देखिन्छ ।
एभरेस्ट बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब २५ करोड ७८ लाख रुपैयाँभन्दा बढी पुगेको छ । यसमध्ये चालु आर्थिक वर्षको नाफाबाट मात्रै २ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ लाभांश वितरण गर्न सकिने अवस्थामा रहेको बैंकले जनाएको छ । यसले आगामी लाभांशप्रति लगानीकर्ताको अपेक्षा थप बढाएको छ ।
बैंकको चुक्ता पूँजी १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष १५ अर्ब ७२ करोड ७८ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ९५ पैसा र प्रतिशेयर नेटवर्थ २५६ रुपैयाँ ४७ पैसा कायम भएको छ ।
समग्र बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जाको दबाब कायम रहे पनि एभरेस्ट बैंकले कर्जाको गुणस्तर मजबुत राखेको देखिन्छ । अघिल्लो वर्ष ०.३८ प्रतिशत रहेको निष्क्रिय कर्जा सामान्य बढेर ०.४९ प्रतिशत पुगे पनि यो अझै बैंकिङ क्षेत्रकै न्यून र सुरक्षित स्तरमध्ये एक हो ।
बैंकको आधार दर घटेर ४.२३ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ३.०५ प्रतिशत कायम भएको छ । यसले नयाँ कर्जा लिने ग्राहकलाई अपेक्षाकृत सस्तो ब्याजदरमा कर्जा उपलब्ध हुने संकेत गरेको छ ।
साथै, बैंकको पूँजी कोष पर्याप्तता अनुपात १२.२३ प्रतिशत रहेको छ, जसले बैंकको वित्तीय अवस्था थप सुदृढ रहेको देखाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया