जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकासहितका क्षेत्रमा जारी गरेको निषेधाज्ञा पूर्ण रूपमा हटाएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार साउन १८ गते सोमबार बिहान ५ बजेदेखि निषेधाज्ञा हटाइएको हो । स्थानीय प्रशासनले यसअघि साउन १६ गते शनिबार बिहान १० बजेदेखि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम निषेधाज्ञा जारी गरेको थियो ।
प्रशासनका अनुसार आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि जिल्लाको सुरक्षा अवस्था सुधारोन्मुख बनेको र जनजीवन क्रमशः सामान्य अवस्थामा फर्किन थालेको छ ।
जिल्ला सुरक्षा समितिको बैठक तथा पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गरेपछि निषेधाज्ञा हटाउने निर्णय गरिएको प्रशासनले जनाएको छ ।
निषेधाज्ञा हटेसँगै नागरिकलाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्दै दैनिक गतिविधि सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले आग्रह गरेको छ ।
प्रशासनको निर्णयपछि जनकपुरधाम क्षेत्रमा यातायात, व्यापार तथा अन्य सार्वजनिक गतिविधि सहज रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया