अब अमेरिकी भिसा लिन नेपालीले ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

लोकपथ
266
Shares

काठमाडौं । अमेरिकाले पर्यटक (बी–२) र व्यवसायिक (बी–१) भिसाका लागि लागू गरेको भिसा बन्ड (धरौटी) कार्यक्रम अब स्थायी बनाएको छ ।

नयाँ नियमअनुसार नेपालसहित ५० देशका नागरिकले अमेरिकी पर्यटक वा व्यवसायिक भिसाका लागि आवेदन दिँदा १० हजार वा २० हजार अमेरिकी डलर धरौटी राख्नुपर्नेछ । यो नियम सोमबारदेखि लागू हुनेछ ।

यसअघि परीक्षणका रूपमा लागू गरिएको कार्यक्रममा ५ हजार, १० हजार र १५ हजार डलर बन्डको व्यवस्था थियो । अब ५ हजार डलरको विकल्प हटाइएको छ भने अधिकतम बन्ड रकम २० हजार डलर पुर्‍याइएको छ । आवेदकले भिसा अन्तर्वार्ताअघि नै बन्ड रकम बुझाउनुपर्नेछ ।

यदि भिसा अस्वीकृत भयो भने धरौटी रकम पूरा फिर्ता हुनेछ । भिसा पाएर अमेरिका गएपछि पनि भिसाका सबै नियम पालना गरी समयमै फर्किएमा बन्ड रकम फिर्ता पाइनेछ ।

अमेरिकाले अवैध आप्रवासन नियन्त्रण गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरेको थियो। अमेरिकी अधिकारीहरूका अनुसार भिसाको समय सकिएपछि पनि अमेरिका बस्ने व्यक्तिलाई पक्राउ गरी फर्काउन ठूलो खर्च लाग्ने भएकाले यस्तो व्यवस्था गरिएको हो ।

यो निर्णयले नेपाल, बंगलादेश र भुटानका नागरिकलाई विशेष असर गर्नेछ । अब अमेरिका घुम्न, व्यवसायिक काम वा आफन्त भेट्न जाने योजनामा रहेका नागरिकले अतिरिक्त आर्थिक व्यवस्था गर्नुपर्नेछ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार परीक्षण अवधिमा बन्ड राखेका अधिकांशले भिसाका नियम पालना गरेका थिए । त्यसैले कार्यक्रम प्रभावकारी ठहर गर्दै यसलाई स्थायी बनाइएको हो ।

यो नयाँ नियम नेपालसहित अल्जेरिया, बंगलादेश, भुटान, कम्बोडिया, नाइजेरिया, मंगोलिया, युगान्डा, भेनेजुएला, जाम्बिया, जिम्बाब्वेलगायत ५० देशका नागरिकमा लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?