न्यायाधीश सपना मल्ल भन्छिन् : अन्यायमा मौन बस्ने समाज लोकतान्त्रिक हुन सक्दैन

लोकपथ
154
Shares

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले लोकतन्त्रको वास्तविक मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधा वा विशेषाधिकारबाट नभई सबैभन्दा कमजोर नागरिकले प्राप्त गर्ने न्यायबाट हुने बताएकी छन् ।

शनिबार ललितपुरमा आयोजित प्रकाश काफ्लेको ३४औँ स्मृति दिवस तथा ३२औँ प्रकाश मानव अधिकार पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले उत्कृष्ट संविधान, कानुन र सक्षम संस्थाहरू मात्र पर्याप्त नहुने उल्लेख गर्दै तिनको वास्तविक अर्थ सबैभन्दा कमजोर नागरिकले राज्यबाट कस्तो व्यवहार र न्याय पाउँछ भन्नेमा निर्भर रहने बताइन् ।

उनले भनिन्, ‘सबैभन्दा कमजोर नागरिक न्याय खोज्दै राज्यको ढोकामा आउँदा उसले सुनुवाइ पाउँछ कि मौनता, सहयोग पाउँछ कि अपमान, प्रक्रिया पाउँछ कि अनन्त प्रतीक्षा ? लोकतन्त्रको वास्तविक परीक्षा शक्तिशाली मानिसले कति सुविधा पाउँछ भन्नेबाट होइन, शक्ति नभएको मानिसले कति न्याय पाउँछ भन्नेबाट हुन्छ ।’

समाजमा धर्म र समुदायका नाममा बढ्दो द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै न्यायाधीश मल्लले नागरिकका आवाज आक्रोशमा होइन, करुणा, सहिष्णुता र सत्यमा आधारित हुनुपर्नेमा जोड दिइन् । कुनै पनि विषयमा तथ्य, प्रमाण र सत्यका आधारमा बोल्न तथा हिंसा भड्काउने प्रवृत्तिभन्दा शान्ति र सहअस्तित्वको मार्ग रोज्न उनले आग्रह गरिन् ।

उनले सामाजिक सञ्जालमा कसैको पीडालाई क्षणिक चर्चाको विषय बनाउने प्रवृत्तिको आलोचना गर्दै त्यसलाई न्यायसम्म पुर्‍याउने जिम्मेवारी समाजले लिनुपर्ने बताइन् । साथै, प्रविधि र विकासको गति मानिसको पहिचान, स्वतन्त्रता र अधिकारमाथि हावी हुन नहुने धारणा राखिन् ।

‘विकास अगाडि बढोस्, तर कमजोरको घर, पानी, पहिचान र आवाज कुल्चिएर होइन। सुरक्षा बलियो होस्, तर स्वतन्त्रता हराएर होइन,‘उनले भनिन् ।

राज्यका संस्थाहरू संविधानले निर्धारण गरेको सीमा र पारस्परिक सम्मानभित्र रहेर बलियो बन्नुपर्ने उल्लेख गर्दै उनले अन्यायका घटनामा मौन बस्ने प्रवृत्ति लोकतान्त्रिक समाजका लागि घातक हुने चेतावनी दिइन् ।

महाभारतको प्रसङ्ग उल्लेख गर्दै न्यायाधीश मल्लले द्रौपदीले न्यायको प्रश्न उठाउँदा मौन बसेको सभाजस्तो अवस्था आजको समाजमा दोहोरिन नहुने बताइन् । द्वन्द्वपीडित, सीमान्तकृत समुदाय, वातावरण संरक्षण तथा नागरिकको पहिचान र अधिकारका सवालमा राज्य र समाजले समयमै न्याय सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिइन् ।

‘न्यायको सही क्षण प्रायः पछि होइन, अहिले नै हो, ‘उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?