काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरोकारवालाबीचको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकमा देशको समग्र सुरक्षा अवस्था तथा साउन १० गते सुनसरीमा भएको घटनाबारे विस्तृत समीक्षा गरिएको परिषद्का सदस्य सचिव तथा रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिए ।
उनका अनुसार भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाबीच समन्वय सुदृढ गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावना कायम राख्ने गरी प्रभावकारी कार्यसम्पादन गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकमा विपद्का घटनामा खोज, उद्धार तथा राहतका कार्यलाई समयमै प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायबीच समन्वय थप मजबुत बनाउने विषयमा पनि छलफल भएको सचिव शर्माले बताए ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले राजनीतिक दल, स्थानीय सरोकारवाला तथा सुरक्षा निकायको संयुक्त प्रयासबाट सुनसरीको अवस्था क्रमशः सामान्य बन्दै गएको जानकारी बैठकमा प्रस्तुत गरिएको बताए। उनले उक्त अवस्थालाई दिगो बनाउन स्थानीय तहमा संवाद र समन्वयलाई निरन्तरता दिनुपर्नेमा बैठकले जोड दिएको उल्लेख गरे ।
उनका अनुसार सम्भावित सङ्कट तथा भिड व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा निकायको क्षमता अभिवृद्धि, आवश्यक स्रोत–साधनको व्यवस्थापन र तालिमलाई थप सुदृढ बनाउने विषयमा पनि बैठकमा छलफल भएको थियो ।
बैठकमा अर्थमन्त्री, परराष्ट्रमन्त्री, गृहमन्त्री, नेपाल सरकारका मुख्य सचिव तथा प्रधान सेनापतिलगायत उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया