बाढी–पहिरोपछि कुन राजमार्गको अवस्था कस्तो छ ?

लोकपथ
14
Shares

काठमाडौं । लगातार परेको वर्षाका कारण आएको बाढी र पहिरोले देशका धेरै मुख्य सडक प्रभावित भएका छन् । नेपाल प्रहरीले केही सडक पूर्ण रूपमा बन्द भएको र केही सडक एकतर्फी मात्र सञ्चालनमा रहेको जनाएको छ ।

ललितपुरको बागमती गाउँपालिकामा रहेको कान्तिलोकपथ साउन १२ गतेदेखि पहिरोका कारण बन्द छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा पहिरो जाँदा अरनिको राजमार्ग पनि बन्द भएको छ ।

दोलखाको लामासाँघु–रामेछाप सडक र रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडक बाढीका कारण बन्द छन् । दोलखामा भने वैकल्पिक बाटोबाट सवारी चलाउने प्रयास भइरहेको छ ।

इलाममा मेची राजमार्ग पहिरोका कारण बन्द छ भने भोजपुरमा मध्य पहाडी लोकमार्ग एकतर्फी मात्र सञ्चालन भइरहेको छ ।

काभ्रे र मकवानपुरमा बाढी र पहिरोको जोखिम बढेकाले रातिको समयमा सवारी सञ्चालन रोकिएको छ । काभ्रेको बीपी राजमार्ग साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म र मकवानपुरको कान्तिलोकपथ साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बन्द रहनेछ ।

बाग्लुङको कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा रहेको छ। गोरखाको आरुघाट–गोरखा सडक भने खुला रहेको प्रहरीले जनाएको छ ।

यस्तै, रुकुम पश्चिमको भेरी करिडोर र जाजरकोट–डोल्पा सडक पनि बाढी र वर्षाका कारण बन्द छन् ।

प्रहरीले वर्षाका कारण सडकको अवस्था जुनसुकै बेला बदलिन सक्ने भएकाले यात्रा गर्नुअघि सडकको पछिल्लो जानकारी लिएर मात्र यात्रा गर्न सबैलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?