बर्डफ्लु नियन्त्रणमा आएपछि बढ्न थाल्यो अण्डा, मासु र चल्लाको मूल्य

अण्डाको मूल्य प्रतिक्रेट ३० रुपैयाँ बढ्यो

लोकपथ
14
Shares

चितवन । नेपालमा बर्डफ्लु रोग नियन्त्रणमा आएपछि पोल्ट्रीजन्य उत्पादनको मूल्य क्रमशः बढ्न थालेको छ । अण्डा, कुखुराको मासु र चल्लाको मूल्य पुनः पुरानै अवस्थामा फर्किन थालेको हो ।

नेपाल लेयर्स कुखुरापालक संघले बुधबारदेखि अण्डाको समर्थन मूल्य वृद्धि गरेको छ । फार्मको उत्पादन लागत र बजार अवस्थालाई आधार बनाएर मूल्य बढाइएको संघले जनाएको छ ।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार अण्डाको मूल्य प्रतिक्रेट रु ३० ले बढाइएको हो । अब ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु ५३० पुगेको छ भने मिडियम अण्डा रु ५०० पुगेको छ । यसअघि ठूलो अण्डा रु ५०० र मिडियम अण्डा ४७० मा बिक्री हुँदै आएको थियो । सानो अण्डाको मूल्य प्रतिपेटी ९सात क्रेट० रु दुई हजार ९०० बाट बढाएर रु तीन हजार पुर्‍याइएको छ । एक्सेल अण्डाको मूल्य पनि रु ५१५ बाट बढेर रु ५४५ पुगेको छ ।

अध्यक्ष पोखरेलले बर्डफ्लु नियन्त्रणमा आएपछि खपत बढ्नु र उत्पादन घट्नुका कारण अण्डाको मूल्य बढाउनुपरेको बताए । उनका अनुसार बर्डफ्लुको प्रभावका कारण ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु ५६५ बाट घटेर रु ४५० सम्म पुगेको थियो ।

अण्डा उत्पादनको लागत प्रतिगोटा रु १९।१२ पर्ने भएकाले किसानले लागत धान्न प्रतिक्रेट रु ५७३।६० आवश्यक पर्ने पोखरेलको भनाइ छ । बर्डफ्लुका कारण किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उनले बताए ।

उनका अनुसार बर्डफ्लु र एच–नाइनका कारण करिब १० लाख लेयर्स कुखुरा मरेका छन् । चैतदेखि असारसम्म दैनिक अण्डा उत्पादन ४३ लाखबाट घटेर २८ लाखमा झरेको थियो । उत्पादन दैनिक करिब १५ लाख अण्डाले घट्दा किसानलाई ठूलो नोक्सानी भएको बताइएको छ ।

यसैबीच कुखुराको मासु र चल्लाको मूल्य पनि बढ्न थालेको छ । ब्रोइलर चल्लाको मूल्य प्रतिगोटा रु ७० पुगेको छ । बर्डफ्लुको समयमा ह्याचरी उद्योगहरूले चल्ला रु १५ सम्ममा बिक्री गर्न बाध्य भएका थिए ।

ह्याचरी उद्योग सङ्घ नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा रु ६५ र लेयर्स चल्लाको लागत मूल्य रु १२५ रहेको छ । अहिले लेयर्स चल्ला बजारमा रु १५० सम्ममा बिक्री भइरहेको छ ।

बर्डफ्लुका कारण कुखुराको मासुको बिक्रीसमेत प्रभावित भएको थियो । दैनिक नौ लाख किलो बिक्री हुने मासु घटेर पाँच लाख किलोमा पुगेकोमा अहिले पुनः बढेर सात लाख किलो दैनिक पुगेको छ । जिउँदो ब्रोइलर कुखुराको मूल्य प्रतिकिलो रु २६० बाट घटेर रु १५० पुगेको थियो भने अहिले बढेर रु २१५ पुगेको छ ।

पशु सेवा विभागका अनुसार साउन १ गतेयता नेपालमा बर्डफ्लुको नयाँ सङ्क्रमण देखिएको छैन । पछिल्लो पटक काठमाडौँको गोकर्णेश्वर–१ सुन्दरीजलमा सङ्क्रमण पुष्टि भएको थियो ।

विभागको तथ्याङ्कअनुसार चैत ४ गते केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणबाट बर्डफ्लु पुष्टि भएको थियो । त्यसपछि चैत ६ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रभावित क्षेत्र घोषणा गरेको थियो ।

बर्डफ्लु नियन्त्रणका क्रममा नेपालभर आठ लाख ३५ हजार ५६३ वटा पन्छी नष्ट गरिएको विभागले जनाएको छ । यस्तै ११ लाख ६५ हजार ६६३ वटा अण्डा र दुई लाख ४५ हजार ३५ किलो दाना नष्ट गरिएको छ । काठमाडौँ उपत्यका र काभ्रे क्षेत्रमा मात्रै तीन लाख ६७ हजार ८३५ वटा पन्छी नष्ट गरिएको विभागको तथ्याङ्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?